निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै
निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार

निर्वाचन

काठमाडौं ।

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ।

आज बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

बैठकमा  निर्वाचन आयोगको कार्यालय खारेज गर्ने सरकारको निर्णय लगायत विभिन्न विषयमा छलफल गरिने शर्माले बताए।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले गरेको बजेट भाषणमा सबै निर्वाचन कार्यालयहरू खारेजी गर्ने निर्णय भएको थियो।

त्यतिबेला आयोगले प्रेस विज्ञप्ति नै जारी गरी सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो।

यस विषयमा आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत छलफल गरेको थियो। गृहमन्त्री श्रेष्ठले पनि यस विषयमा अर्थमन्त्री महतसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएका थिए।

यस विषयमा आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो।

यस्तै निर्वाचन कानुनको विधेयक सम्बन्धमा र स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने सम्बन्धमा पनि छलफल गर्न लागेको प्रवक्ता शर्माले बताए।

विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने विषयमा पनि आज छलफल हुनेछ। त्यस्तै राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणको सम्बन्धमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित