पोखराका दुई महिला पत्रकार पुरस्कृत  
     पोखराका दुई महिला पत्रकार पुरस्कृत  
    • Bell Sanchar

    • १२ आश्विन २०८०, शुक्रबार

गण्डकी

नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित ‘मीना सिर्जनशील पत्रकारिता पुरस्कार’द्वारा पोखरामा क्रियाशील दुई महिला पत्रकार पुरस्कृत भएका छन् । विसं २०७९ को सो पुरस्कार पत्रकार बिनुकुमारी थापा ‘बिनु’ र विसं २०८० को बालकुमारी पौडेल ‘तारा’लाई प्रदान गरिएको हो ।

महासङ्घको सभाकक्षमा आज आयोजित पुरस्कार अर्पण समारोहमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले पत्रकारद्वयलाई नगद रु २० हजार एक सय ११ राशिसहित पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री अर्यालले महिलाका लागि पत्रकारिता पेसालाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले समाज रूपान्तरणको अभियानमा पत्रकारको अग्रणी भूमिका रहने उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारले छिट्टै आमसञ्चार विधेयक ल्याउने बताउनुभयो । “संसद्मा पेस भएर छलफलका लागि विषयगत समितिमा गएको छ, समितिमा व्यापक छलफल र सुझाव लिएर आवश्यक परिमार्जनसहित विधेयक पास गर्छौं”, उहाँले भन्नुभयो ।

समारोहमा पुरस्कृत पत्रकारद्वय थापा र पौडेलले पुरस्कारबाट पत्रकारितामा थप क्रियाशील हुन प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले महिला र समावेशीकरणको मुद्दामा कलम चलाएवापत उहाँहरूलाई पुरस्कृत गरिएको बताउनुभयो ।

उक्त पुरस्कार कोष गण्डकी प्रदेशसभाका पूर्वसदस्य तथा उद्यमी मीना गुरुङले स्थापना गर्नुभएको थियो । पुरस्कृत पत्रकार थापा पोखरा टेलिभिजन र पौडेल पोखरा सिटी डट कममा आबद्ध हुनुहुन्छ । उक्त पुरस्कार हरेक वर्ष महिला पत्रकारलाई प्रदान गरिँदै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित