मुलुक विकासका निम्ति दलहरु एकै ठाउँमा उभिनुपर्छ’   
 मुलुक विकासका निम्ति दलहरु एकै ठाउँमा उभिनुपर्छ’   
    • Bell Sanchar

    • १८ आश्विन २०८०, बिहीबार

काठमाडौँ

सांसदहरुले मुलुकको समृद्धिका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको वैठकको विशेष समयमा सांसदहरुले नेताहरुले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

“सबै दलहरु मिलेरै शान्ति प्रक्रियामा आएका हौँ, तर अहिले संविधान कार्यान्वयन, ऐन÷कानून बनाउने र देश विकासका विषयमा किन दलहरु एकै ठाउँमा उभिन सक्दैनन् ?”, सांसद जगप्रसाद शर्माले प्रश्न गर्नुभयो ।

मुलुकको आर्थिक विकासको निम्ति राजस्व वृद्धि गर्नुपर्ने बताउँदै सांसद शर्माले सरकारले महङ्गी र कालोबजारीको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता, गणतन्त्र, समावेशीता र धर्मनिपेक्षतालगायत प्राप्त उपलब्धिका विरुद्धमा षड्यन्त्रहरु भइरहेको भन्दै उहाँले त्यसमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बाढी, पहिरो र भूकम्पमा परी वेपत्ता हुनेहरुको खोजी तथा क्षतिपूर्तिको निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोपाल भट्टराईले संविधान दिवसका अवसरमा सरकारले माफी दिन नहुनेलाई पनि आममाफी दिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद भट्टराईले नेपालीहरुको महान चाड दसैँ अगाडि उपभोग्य सामग्रीमा भएको महङ्गी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी, पहिरो तथा भूकम्प पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित