बागमती प्रदेशसभा बैठक : दुईवटा विधेयक सर्वसम्मति पारित   
     बागमती प्रदेशसभा बैठक : दुईवटा विधेयक सर्वसम्मति पारित   
    • Bell Sanchar

    • २२ आश्विन २०८०, सोमबार

मकवानपुर

बागमती प्रदेशसभाको आजको बैठकले दुईवटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका ज्येष्ठ सदस्य याङ्किला शेर्पाले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन पेस गर्नुभएको थियो ।

बैठकमा विशेष समय मागेर नेकपा (एमाले) संसदीय दलका सचेतक मधुसूदनप्रसाद पौडेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेमकिपा संसदीय दलका नेता सुरेन्द्रप्रसाद गोरसाइँले इजरायलमा भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँहरुले त्यहाँ रहेका विद्यार्थीहरुलाई तत्काल स्वदेश फर्काउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसपछि सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित