धानमा ‘कालो पोके’ रोग   
     धानमा ‘कालो पोके’ रोग   
    • Bell Sanchar

    • २४ आश्विन २०८०, बुधबार

दाङ

यहाँका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो । यो रोग लागेपछि धानका बोट कालो पोको हुने र धानको गेडा नष्ट गर्ने गर्दछ । यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन् ।

“धानमा कालो पोके रोगले सताएको छ । फलेका गेडामा कालो पोके लागेको छ”, दङ्गीशरण–४ का थम्मनबहादुर रेउलेले भन्नुभयो, “यो वर्ष उत्पादन घट्ने भयो ।” यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको उहाँको भनाइ थियो ।

“यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुपर्‍यो”, स्थानीय जयलाल वलीले भन्नुभयो, “धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ । यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ ।” बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेका उहाँको भनाइ थियो ।

कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले बताउनुभयो । किसानलाई एग्रोभेटबाट हाइब्रिट बीउ भन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उहाँहरुले हाइब्रिट बीउले धेरै उत्पादन दिन्छ भनेर लगाउनुभएको उहाँले बताउनुभयो । आगामी वर्ष हाइब्रिट बीउ नलिने र लिए पनि उपचार गरे÷नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने उहाँको भनाइ थियो ।

“हाइब्रिट जात कुनै पहाडतिरका लागि बनाइएको हुन्छ । त्यही धान तराईमा लगाउँदा यस्तो समस्या देखिन सक्छ”, डाँगीले भन्नुभयो, “नेपालमै सूचीकृत नगरिएका बीउ पनि किसानले लगाउने गरेका छन् ।” उहाँका अनुसार जिल्लामा फड्के कीराले पनि धान बालीमा असर गरेको छ । दङ्गीशरणमा मात्रै दुई हजार छ सय ३१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित