घोराही
पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।
शान्तिनगर गाउँपालिका–५ की सुरक्षा चौधरी पछिल्लो समय संस्कृति संरक्षणमा जुट्नुभएको छ । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उहाँ बताउनुहुन्छ । चौधरीले थारुको पहिचानका रुपमा रहेका बड्का नाँच, छोक्रा नाँच र सख्या नाच नाच्न सिक्नुभएको छ ।
“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । सार्वजनिक कार्यक्रममा सहभागी हुन र नाच्न मन लाग्दैन थियो,” उहाँले भन्नुभयो, “तर अहिले सहज हुँदै गएको छ । आफ्नो जातिगत वेषभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै चौधरीलाई थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायत पहिरनमा सजिन मन लाग्ने गरेको छ । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको चौधरीले बताउनुभयो ।
विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभासम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० की अनिता चौधरीे बताउनुहुन्छ । अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्नुहुन्छ ।
“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेकी छु”, उहाँले भन्नुभयो, “कला सस्कृतिका बारेमा ज्ञान पाइनुका साथै आम्दानीसमेत हुने गरेको छ ।”
पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्ने तथा पाहुनाको स्वागतमा उनीहरु खटिने गर्छन् । यो क्रम बढ्दै गएको छ । घोराही–११ वनघुस्राका रामप्रसाद चौधरी आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकास गर्न युवा पुस्ता अग्रसर भएको बताउनुहुन्छ ।
“थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, भ्रmमालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पुगेको छ ।”
थारु जातिमा सखिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गिविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । थारु कला संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेबारे प्रशिक्षणको व्यवस्था हुनुपर्ने चौधरी बताउनुहुन्छ । थारु समुदायको विभिन्न बाजा संरक्षणका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।