रोजगारी दिन सवारी चालक तालिम   
रोजगारी दिन सवारी चालक तालिम   
    • Bell Sanchar

    • ७ माघ २०८०, आईतवार

दोलखा

भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो ।

तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उहाँले बताउनुभयो । “यो अभियानमार्फत वडाका युवालाई रोजगारतर्फ लैजान सुरु गरिएको अभियान प्रभावकारी भएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताउनुभयो । चालु आर्थिक वर्षमा २० जनालाई रोजगारका लागि तालिम दिँदा १० जना सफल भएर ड्राईभर बन्न लागेकाले तालिम उपलब्धिमुलक भएको उहाँको भनाइ थियो ।

भीमेश्वर–४ का वडाध्यक्ष चौलागाईंले वडाको बजेटबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तीनपाङ्ग्रे, चार पाङ्ग्रे बोलेरो, ट्याक्सी, अटो ट्याम्पु चलाउन सक्ने गरी तालिम दिइएको बताउँदै यसबाट स्वदेशमै रोजगारीका अवसर सृजना भएको जानकारी दिनुभयो । “तालिमका प्रमाणपत्र दिनका लागि मात्रै आयोजना गरिएको छैन”, उहाँले भन्नुभयो ।

नगरप्रमुख मानन्धरले तालिमको अनुुगमन गरी सीपमूलक ज्ञानको मूल्याङ्कन गरेर मात्रै उनीहरुलाई नगरपालिकाले प्रमाण पत्रवितरण गरेको बताउनुभयो । नगरप्रमुख मानन्धरले तालिममा सहभागीले चलाएको अटो ट्याम्पुमा यात्रा गरेर सीप परीक्षण गर्जुभएको वडाध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।

तालिममा सहभागी स्थानिय पार्वती श्रेष्ठले भन्नुभयो, “यो तालिम अत्यन्तै जीवन उपयोगी भएको छ । विदेश जाने योजनामा थिएँ, अब स्वदेशमा नै ड्राईभर भएर जीविकोपार्जन गर्ने हो ।” उहाँ जस्तै तालिममा सहभागी अधिकांश उत्साहित छन् ।

वडाले चालक अनुमतिपत्र लिएर आएका तालिममा सहभागीलाई तीनपाङ्ग्रे सावारी किन्न ४० प्रतिशत अनुदान दिने योजना बनाएको वडाध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित