एमाले राष्ट्रिय भेलामा सुरक्षा सतर्कता बढाउन ओलीको निर्देशन
एमाले राष्ट्रिय भेलामा सुरक्षा सतर्कता बढाउन ओलीको निर्देशन
    • बेल संचार

    • ३ मंसिर २०८३, बिहीबार

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलास्थलमा अपरिचित व्यक्तिको प्रवेश नियन्त्रण गर्न र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

काठमाडौँमा बिहीबार आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा हुने आवतजावतलाई व्यवस्थित बनाउन स्वयंसेवकहरूलाई सचेत रहन आग्रह गरेका हुन्।

आफूहरू बसेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको घटना सुनाउँदै उनले नेता तथा प्रतिनिधिसम्म जोकोहीको सहज पहुँच हुन नहुने बताए। अपरिचित व्यक्तिका कारण नेताहरूको महत्वपूर्ण समयसमेत खेर जाने भन्दै उनले प्रवेश व्यवस्थापनमा कडाइ गर्नुपर्नेमा जोड दिए।

ओलीले भेलामा सहभागी सबै नेता तथा प्रतिनिधिलाई अनिवार्य रूपमा परिचयपत्र लगाउन पनि आग्रह गरे। परिचयपत्रले सहभागीको पहिचान गर्न तथा सुरक्षा व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

त्यस्तै, बैठक सञ्चालन भइरहेका बेला अनावश्यक कुराकानी नगर्न र कार्यक्रमस्थलमा शान्त तथा अनुशासित वातावरण कायम राख्न उनले निर्देशन दिए। आपसी भेटघाट र छलफलका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न पनि उनले आग्रह गरे।

बिहीबारको कार्यक्रम दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै ओलीले निर्धारित कार्यसूचीअनुसार कार्यक्रम अघि बढाउन र भेलालाई अनुशासनको उदाहरण बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित