विकास आयोजनामा भूगर्भीय अध्ययन अनिवार्य गर्न सभामुख अर्यालको जोड
विकास आयोजनामा भूगर्भीय अध्ययन अनिवार्य गर्न सभामुख अर्यालको जोड
    • बेल संचार

    • ३ मंसिर २०८३, बिहीबार

काठमाडौँ ।

सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न भूगर्भीय अनुसन्धान र वैज्ञानिक अध्ययनलाई विकास योजना तथा सरकारी नीतिसँग जोड्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै उनले नेपाल भूकम्प, बाढी, पहिरो, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक जोखिमको उच्च चपेटामा रहेको बताए।

प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न सम्भव नभए पनि वैज्ञानिक अध्ययन, जोखिमको पूर्वपहिचान र आवश्यक तयारीबाट जनधनको क्षति घटाउन सकिने उनको भनाइ थियो। त्यसका लागि भूविज्ञानसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

सभामुख अर्यालले सडक, सुरुङमार्ग, जलविद्युत्, विमानस्थल र सहरी पूर्वाधार निर्माण गर्नुअघि भूगर्भीय अवस्था तथा सम्भावित जोखिमको विस्तृत मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए। विकास निर्माणलाई तीव्रता दिँदा सुरक्षित र दिगो भविष्यलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनको धारणा थियो।

उनले वैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कानुन तथा नीति निर्माण गर्न संसद्, सरकार, विश्वविद्यालय र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेको बताए। प्राकृतिक स्रोतको दिगो उपयोग, विपद् जोखिम न्यूनीकरण र युवा वैज्ञानिकको अनुसन्धान क्षमता विकासमा समेत ध्यान दिनुपर्ने उनले उल्लेख गरे।

हिमालय क्षेत्रमा भइरहेका भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले नेपालमा मात्र नभई दक्षिण एसियासहित विश्वका अन्य क्षेत्रमा पनि प्रभाव पार्न सक्ने भन्दै उनले अन्तर्राष्ट्रिय अनुसन्धान, वैज्ञानिक तथ्याङ्क आदानप्रदान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताए।

नेपाल भौगर्भिक समाजले अनुसन्धान र वैज्ञानिक ज्ञान विस्तारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै अर्यालले सम्मेलनबाट प्राप्त निष्कर्षलाई राष्ट्रिय नीति, विकास योजना र स्थानीय तहका काममा समेत कार्यान्वयन गर्नुपर्ने बताए।

‘प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुन्छ,’ उनले भने।

‘उत्थानशील, दिगो र स्रोत–सुरक्षित विश्वका लागि हिमालय क्षेत्रको भूविज्ञानको पुनर्संरचना’ मुख्य विषय रहेको सम्मेलनले भूगर्भीय अनुसन्धान र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित