काठमाडौं ।
हरिबोधिनी एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका चार नारायण र बूढानीलकण्ठ नारायणस्थानमा विशेष पूजाआजा तथा दर्शनका लागि श्रद्धालुको लाम लागेको छ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशीका दिन जागा हुने धार्मिक मान्यता छ। भगवान् विष्णुको जागरणको प्रतीकका रूपमा मनाइने यस पर्वमा भक्तजनले व्रत, पूजा र आराधना गर्ने परम्परा छ।
आज चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा दर्शनार्थीको उल्लेख्य उपस्थिति छ। यी चारवटै नारायणको एकैदिन दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण विभिन्न स्थानबाट भक्तजन उपत्यका आउने गरेका छन्।
चार नारायण पुग्न नसक्ने भक्तजन बूढानीलकण्ठस्थित नारायण मन्दिरमा दर्शनका लागि जाने गरेका छन्। त्यहाँ रहेको एउटै विशाल शिलामा कुँदिएको हरि र हर अर्थात् भगवान् विष्णु र शिवको मूर्ति धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्रसमेत बनेको छ।
बूढानीलकण्ठ नारायणस्थानमा राति १ बजेदेखि नै भक्तजन आउन थालेपछि मठले बिहान १ः३० बजेदेखि मन्दिरको ढोका दर्शनका लागि खुला गरेको महन्त निगमानन्द स्वामीले जानकारी दिए। बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा र दर्शन गरिसकेको उनले बताए।
मठका अनुसार आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। विशेष पूजाका लागि बिहान १ः३० देखि सवा ८ बजेसम्म मन्दिर दर्शनार्थीका लागि बन्द गर्ने कार्यक्रमसमेत तय गरिएको थियो।
बूढानीलकण्ठमा हरिबोधिनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मंसिर ८ गतेसम्म विशेष धार्मिक मेला सञ्चालन हुँदैछ। यस अवसरमा मंसिर २ गतेदेखि सुरु भएको श्रीमद्भागवत कथा वाचनसहितको महायज्ञ तथा धार्मिक महोत्सव मंसिर ८ गतेसम्म चल्ने मठले जनाएको छ।
यसैगरी, नारायणहिटी दरबार क्षेत्रको चतुर्व्यूह नारायण मन्दिर, हाँडीगाउँ, हनुमानढोका, पशुपति क्षेत्र तथा गोकर्णेश्वर नगरपालिकाको नारायणटारलगायतका मन्दिरमा पनि बिहानैदेखि भक्तजनको उपस्थिति बढेको छ। उपत्यकाबाहिरका विभिन्न नारायण मन्दिरमा समेत हरिबोधिनी एकादशीको विशेष पूजा तथा आराधना भइरहेको छ।