काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन्।
यसैगरी, निजी क्षेत्रका ५२ प्रतिनिधि पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्। निजी खर्चमै केही सञ्चारकर्मीसमेत भारत जाने मन्त्रालयले जनाएको छ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहकार्य तथा विभिन्न विकास परियोजनाका विषयमा छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा केही सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत गरिएको छ।
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।