ललितपुर ।
बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अन्यायका घटनालाई समाचार बनाउँदा पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नुभन्दा घटनामा संलग्न व्यक्ति तथा निकायलाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन्।
ललितपुरको गोदावरीमा मंसिर ८ र ९ गते आयोजित दुईदिने बाल संवेदनशील पत्रकारिता अभिमुखीकरणमा सहभागी पत्रकार तथा बाल अधिकारकर्मीले बालबालिकासम्बन्धी समाचार लेखनमा संवेदनशीलता र जिम्मेवारी बढाउनुपर्ने निष्कर्ष निकालेका हुन्।
कार्यक्रममा बालबालिकाको नाम, तस्बिर, पारिवारिक अवस्था तथा व्यक्तिगत विवरण सार्वजनिक गर्दा उनीहरूको सामाजिक प्रतिष्ठा, मानसिक अवस्था र सुरक्षामा दीर्घकालीन असर पर्न सक्ने विषय उठाइएको थियो। त्यसैले समाचार तयार गर्दा बालबालिकाको सर्वोत्तम हित, गोपनीयता र आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको धारणा थियो।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बाल अधिकारका आधारभूत पक्ष, संरक्षणका संयन्त्र तथा नेपालमा बालबालिकाले भोगिरहेका चुनौतीबारे सहजीकरण गरेका थिए। उनले बालबालिकाले बाँच्न पाउने अधिकार, संरक्षण, विकास, सहभागिता र सर्वोत्तम हितलाई बाल अधिकारका मुख्य आधारका रूपमा प्रस्तुत गरे।

उनका अनुसार बालबालिकाको पक्षमा कानुनी तथा नीतिगत व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती छन्। दिगो विकासका १७ लक्ष्यमध्ये १० वटा लक्ष्य बालबालिकासँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै उनले राष्ट्रिय योजना तथा स्थानीय तहका कार्यक्रम बालमैत्री बनाउनुपर्ने बताए।
पौडेलले सोह्रौँ योजना, स्थानीय शासन कार्यसम्पादन मूल्यांकन कार्यविधि २०८२ तथा स्थानीय तहमा रहेका बाल संरक्षणसम्बन्धी संयन्त्रलाई व्यवहारमै प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याए। बालबालिकासम्बन्धी तथ्यांक संकलन, व्यवस्थापन र संरक्षण प्रणालीलाई समेत व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो।

विपद्का समयमा बालबालिका थप जोखिममा पर्ने विषय उठाउँदै उनले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बालबालिकाको अवस्थाबारे चर्चा गरे। विपद्का बेला जोखिममा रहेका बालबालिकाको पहिचान, सुरक्षा, आवश्यक सेवा र पुनःस्थापनामा राज्यका निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए।
सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले बालबालिकासम्बन्धी समाचारमा उनीहरूको व्यक्तिगत मर्यादा र मनोवैज्ञानिक अवस्थालाई बेवास्ता गर्न नहुने बताइन्। विशेषगरी बालिका तथा किशोरीका विषयमा समाचार तयार गर्दा लैंगिक संवेदनशीलता अपनाउनुपर्ने उनको सुझाव थियो।

उनले पीडित बालबालिकाको दुःख र पहिचानलाई समाचारको मुख्य विषय बनाउनेभन्दा उनीहरूमाथि अन्याय गर्ने व्यक्ति, संस्थागत कमजोरी र घटनाको जिम्मेवारी कसले लिनुपर्ने हो भन्ने प्रश्न उठाउन पत्रकारलाई आग्रह गरिन्। बालबालिकामाथिको विभेद अन्त्य गर्न परिवारदेखि समुदायसम्म सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

सामुदायिक सूचना नेटवर्क (सीआईएन) अकोराबका सम्पादक लिलप्रकाश चन्दले बालबालिकालाई सधैँ कमजोर, असहाय वा पीडित पात्रका रूपमा मात्र प्रस्तुत गर्ने शैली परिवर्तन गर्नुपर्ने बताए। बालबालिकाका प्रतिभा, क्षमता, सिर्जनशीलता र सफलताका कथाले पनि सञ्चारमाध्यममा उचित स्थान पाउनुपर्ने उनको धारणा थियो।

उनले घटनाको नकारात्मक पक्ष मात्र देखाउनेभन्दा समस्याको समाधान खोज्ने र सकारात्मक परिवर्तनका लागि सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने पत्रकारिताको आवश्यकता औँल्याए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पनि डिजिटल सञ्चारमाध्यममा बालबालिकासम्बन्धी सामग्री प्रकाशन गर्दा थप सावधानी अपनाउनुपर्ने बताए। उनले डिजिटल पत्रकारिताका अवसर, चुनौती र त्यससँग जोडिएका व्यावसायिक जिम्मेवारीबारे सहभागीलाई जानकारी गराएका थिए।

कार्यक्रमले बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित १३ सदस्यीय ‘बालमैत्री पत्रकार समूह’ गठन गरेको छ।
नागरिकन्युजकी पत्रकार सुभद्रा धितालको संयोजकत्वमा गठित समूहको सहसंयोजकमा रातोपाटीका पत्रकार नरेन्द्र रौले चयन भएका छन्।
समूहका सदस्यमा उमा शर्मा, विनोद देवकोटा, क्रिषला भण्डारी, शिव गौतम, सपना बोहरा, सुरेशप्रसाद सैँजु, पवित्रा मुडभरी, मनिषा बस्नेत, टोपेन्द्र रोकामगर, सत्यराज भट्ट र दानिस राज अन्सारी रहेका छन्।
सिजप नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र प्लान इन्टरनेसनलको सहकार्यमा आयोजित अभिमुखीकरणमा ३९ जना पत्रकार सहभागी थिए। कार्यक्रममा सहभागीलाई विभिन्न समूहमा विभाजन गरी बाल अधिकार संरक्षणमा सञ्चारमाध्यमको दायित्व, समाचार लेखनका संवेदनशील पक्ष र बालमैत्री पत्रकारिताका अभ्यासबारे छलफल तथा अन्तरक्रिया गराइएको थियो।
कार्यक्रमले बालबालिकाको पीडालाई प्रचारको विषय बनाउनेभन्दा उनीहरूको अधिकारको पक्षमा आवाज उठाउने र अन्यायविरुद्ध जिम्मेवार पक्षलाई प्रश्न गर्ने पत्रकारिताको आवश्यकता औँल्याएको छ।
