काठमाडौँ ।
चीनसँग राजनीतिक सम्बन्धको समझदारी विस्तार र आर्थिक सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने उद्देश्यसहित चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आज स्वदेश फर्कने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाका महामन्त्रीको नेतृत्वमा गएको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीनका विभिन्न सहरको भ्रमण गरेको हो।
भ्रमणका क्रममा दुई देशका राजनीतिक दलबीच आपसी सम्बन्ध, सहकार्यका सम्भावना र एकअर्काका राजनीतिक दृष्टिकोण बुझ्ने विषयमा छलफल भएको रास्वपाका सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिएका छन्।
टोलीले सीपीसीका वरिष्ठ नेता ली शुलेईसँग पनि भेटवार्ता गरेको थियो। करिब डेढ घण्टा चलेको उक्त संवादमा दुई राजनीतिक दलबीच आपसी समझदारी बढाउने तथा आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
राजनीतिक भेटघाटसँगै प्रतिनिधिमण्डलले चीनको छेन्दु, हाङझाउ र बेइजिङमा रहेका विश्वविद्यालय, औद्योगिक प्रतिष्ठान, व्यापारिक केन्द्र तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो।
चीनको वेनचुआन क्षेत्रमा भूकम्पपछि गरिएको पुनर्निर्माण, प्रभावित बस्तीको पुनःस्थापना र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन अपनाइएका उपायबारे पनि टोलीले स्थलगत जानकारी लिएको थियो। विपद् व्यवस्थापन र पुनर्निर्माणका चिनियाँ अनुभव नेपालका लागि उपयोगी हुन सक्ने विषयमा समेत चासो राखिएको थियो।
चिनियाँ निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा नेपाली वस्तुको चिनियाँ बजारमा पहुँच विस्तार, नेपालमा लगानी आकर्षित गर्ने र व्यापारिक सम्बन्धलाई थप बलियो बनाउने विषयले प्राथमिकता पाएको रास्वपाले जनाएको छ।
भ्रमणका क्रममा युवा सीप विकास, पर्यटन प्रवर्द्धन, उद्योग, ऊर्जा, पूर्वाधार निर्माण र विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।
यी विषयलाई छलफलमै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रसँग समन्वय गरेर पार्टीका तर्फबाट पहल गर्ने रास्वपाले जनाएको छ।
भ्रमण टोलीले चीनमा प्राप्त स्वागत र आतिथ्यप्रति चिनियाँ कम्युनिस्ट पार्टी तथा सम्बन्धित पक्षलाई धन्यवाद दिएको छ। भ्रमण सफल बनाउन सहयोग गर्ने सबैप्रति पनि रास्वपाले आभार व्यक्त गरेको छ।
टोलीको भ्रमणलाई नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, व्यावसायिक र प्राविधिक पक्षबारे अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा लिइएको छ।