रासायनिक हतियारको जोखिमविरुद्ध नेपालको स्पष्ट अडान, अन्तर्राष्ट्रिय सहकार्यमा जोड
रासायनिक हतियारको जोखिमविरुद्ध नेपालको स्पष्ट अडान, अन्तर्राष्ट्रिय सहकार्यमा जोड
    • बेल संचार

    • ११ मंसिर २०८३, शुक्रबार

काठमाडौँ ।

विश्वमा रासायनिक हतियारको प्रयोग र विस्तार रोक्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ । नेपालले यस्ता हतियारको विकासदेखि प्रयोगसम्मका सबै गतिविधिको विरोध गर्दै रासायनिक हतियारमुक्त विश्व निर्माणको पक्षमा आफ्नो धारणा प्रस्तुत गरेको हो ।

नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) अन्तर्गत सदस्य राष्ट्रहरूको ३१औँ सम्मेलनलाई सम्बोधन गर्दै नेपालले आफ्नो धारणा राखेको हो ।

सम्मेलनमा बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपिसिडब्ल्युका लागि नेपालकी स्थायी प्रतिनिधि सेवा लम्सालले नेपालको तर्फबाट प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

उनले निरस्त्रीकरण र हतियारको अप्रसारलाई नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै विश्व शान्ति, आपसी सहअस्तित्व र अन्तर्राष्ट्रिय सहकार्यप्रति नेपालको प्रतिबद्धता स्पष्ट पारिन् ।

राजदूत लम्सालले कुनै पनि अवस्थामा रासायनिक हतियार निर्माण, उत्पादन, खरिद, सञ्चय, विस्तार तथा प्रयोग स्वीकार्य नहुने बताइन् । रासायनिक हतियार निषेध महासन्धिका प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सदस्य राष्ट्रको साझा प्रयास आवश्यक रहेको नेपालको धारणा छ ।

उनले विशेषगरी अतिकम विकसित राष्ट्रहरूमा रासायनिक हतियारसम्बन्धी दायित्व पूरा गर्न आवश्यक संस्थागत संरचना, प्राविधिक दक्षता र दक्ष जनशक्ति विकासमा ओपिसिडब्ल्युले सहयोग बढाउनुपर्नेमा जोड दिइन् । यसका लागि तालिम, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता र जैविक प्रविधिमा भइरहेको तीव्र विकासले भविष्यमा निम्त्याउन सक्ने सुरक्षा चुनौतीप्रति पनि नेपालले ध्यानाकर्षण गराएको छ । नयाँ वैज्ञानिक तथा प्राविधिक उपलब्धिको दुरुपयोग हुन नदिन अन्तर्राष्ट्रिय स्तरमा नियमित संवाद, सहकार्य र साझा रणनीति आवश्यक रहेको नेपालले जनाएको छ ।

ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार सम्मेलनमा नेपालले रासायनिक हतियार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्था थप प्रभावकारी बनाउन आफ्नो सहयोग र प्रतिबद्धता कायम रहने स्पष्ट पारेको छ ।

साताकाे चर्चित
सम्बन्धित