काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका ऊर्जा तथा सिँचाइसम्बन्धी आयोजना र विपद्बाट प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गर्ने भएका छन्।
मन्त्री श्रेष्ठले आज कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वत पुगेर पहिरोले पुर्याएको क्षति, नदी तथा खोलामा तटबन्ध निर्माणको अवस्था र सिँचाइ आयोजनाले भोगिरहेका समस्याबारे जानकारी लिने कार्यक्रम छ।
अनुगमनका क्रममा कास्कीमा पहिरो प्रभावित क्षेत्रको अवस्था र क्षतिको विवरण संकलन गरिनेछ। त्यस्तै, स्याङ्जामा जलविद्युत् आयोजना तथा नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको निरीक्षण र समीक्षा गर्ने कार्यतालिका रहेको छ।
विपद्पछि प्रभावित नागरिकले सामना गरिरहेका समस्या बुझ्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्रभावकारी बनाउने र भविष्यमा हुन सक्ने जोखिम घटाउने उद्देश्यले मन्त्री श्रेष्ठले स्थलगत भ्रमण गर्न लागेका हुन्।
अनुगमनबाट प्राप्त विवरणका आधारमा तत्काल सुधार गर्नुपर्ने विषय र दीर्घकालीन पूर्वाधार निर्माणका आवश्यकताबारे सम्बन्धित निकायसँग छलफल तथा समन्वय गरिने जनाइएको छ। यसबाट बाढीपहिरो नियन्त्रण, सिँचाइ सुविधा विस्तार र ऊर्जा क्षेत्रका समस्याको समाधानका लागि आवश्यक योजना तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।