आँखाको उपचार सेवाबाट टाढा रहेका पाँचथरका नागरिकलाई गाउँमै राहत, १०३ जनाको शल्यक्रिया
आँखाको उपचार सेवाबाट टाढा रहेका पाँचथरका नागरिकलाई गाउँमै राहत, १०३ जनाको शल्यक्रिया
    • बेल संचार

    • ११ मंसिर २०८३, शुक्रबार

पाँचथर ।

दुर्गम तथा पहाडी क्षेत्रमा आँखाको उपचार सहज नहुँदा समस्यामा परेका नागरिकलाई लक्षित गरी पाँचथरमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जनाले सेवा लिएका छन् ।

फिदिम नगरपालिकाको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा तीन दिनसम्म सञ्चालन भएको शिविर बिहीबार सम्पन्न भएको हो ।

शिविरका क्रममा मोतियाविन्दुको समस्या देखिएका १०३ जनाको शल्यक्रिया गरिएको छ । त्यस्तै, दृष्टि सुधारका लागि ५५८ जनालाई निःशुल्क चस्मा उपलब्ध गराइएको छ भने अन्य सेवाग्राहीलाई स्वास्थ्य अवस्थाअनुसार आवश्यक औषधि वितरण गरिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

पाँचथर तथा आसपासका पूर्वी पहाडी जिल्लामा आँखासम्बन्धी उपचारका लागि आवश्यक सुविधासम्पन्न अस्पतालको अभाव रहेकाले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको नगरप्रमुख काफ्लेले बताए ।

नेत्र विशेषज्ञसहित १८ जना स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित