एजेन्सी । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उहाँले स्पष्ट पार्नु भएको छ ।
“पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भन्नुभएको छ । कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उहाँको भनाइ छ ।
अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उहाँले स्पष्ट पार्नु भएको छ ।
न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक (निषेधाज्ञा) व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ ।
त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।