कृषि र उद्योगमा प्राथमिकता 
कृषि र उद्योगमा प्राथमिकता 
    • Bell Sanchar

    • ८ जेष्ठ २०७९, आईतवार

रामपुर नगरपालिकाका नवनिर्वाचित रमणबहादुर थापाले नगरको आर्थिक समृद्धिका लागि कृषि र उद्योगलाई प्राथमिकता दिने बताउनुभएको छ । नागरिकको आयस्तर वृद्धि गर्ने आधार कृषि र उद्योग भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर अबको पाँच वर्ष काम गर्ने उहाँको भनाइ छ ।

शनिबार सीताकुण्ड मिडिया प्रालिद्वारा बधाइ तथा शुभकामना आदान–प्रदानका लागि आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा नभएका ठाउँमा लिफ्टिङ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्ने जानकारी दिनुभयो । कृषि गर्ने युवालाई व्यवसायमा रु ३० लाखसम्म दुई वर्षका लागि ब्याज अनुदान, कृषक वर्गीकरण गरी सोका आधारमा बिनाधितो रु पाँच लाखसम्म अनुदान सहयोगजस्ता कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “खेतीयोग्य जमिनबाहेक अन्यत्र स्थानमा सुन्दर बस्ती निर्माण गर्ने, बाँझो जमिनमा सिँचाइको प्रबन्ध मिलाएर हरियाली रामपुर बनाउने योजना ल्याएका छौँ, अबको पाँच वर्ष विशेषगरी कृषि, उद्योग, पर्यटनजस्ता क्षेत्रमा प्राथमिकता दिनेछौँ ।”

कृषि उपज तथा मासुजन्य, दुग्धजन्य पदार्थमा लगानी बढाई नगरलाई आत्मनिर्भर बनाउने, व्यावसायिक कृषकको कृषि तथा पशु बिमा, नश्ल सुधार, बाँझोपन निवारण, पशु उपचार घरदैलो सेवा र उत्पादनको बजारीकरणको सुनिश्चितता गर्न दुई स्थानमा कृषिबजारको स्थापना गर्ने, नगरभित्र भू–उपयोग नक्सा बनाई माटो परीक्षण गर्ने र कृषि, पशु प्राविधिकको व्यवस्था गर्ने, उत्पादनमा आधारित उत्कृष्ट कृषकलाई सम्मान र प्रोत्साहन गर्दै अनुदान प्रदान गर्ने जानकारी दिनुभयो ।

साथै उद्योगधन्दाको विस्तारका लागि रामपुर नगरपालिका–७ स्थित वीरेन्द्रटारमा औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अगाडि बढेको जनाउँदै गत वर्ष रु २० लाखको काम भएको र यस वर्ष रु एक करोड १० लाखका लागि शुक्रबारमात्रै सम्झौता भएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । युवाहरूका लागि रोजगारी सिर्जना गर्न सञ्चालनमा रहेको योजनालाई गति दिन ठेक्का प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

नमूना बस्तीका लागि ‘एक वडा एक कलर’ अभियानसहित प्रत्येक वडामा एउटै खालको संरचना निर्माण गर्ने, हिलोरहित रामपुर नगर, धुलोरहितको सहर बनाउने, पाँच वर्षभित्रमा नगरका १० वटै वडा कार्यालय, स्वास्थ्य संस्थामा पुग्ने सडक पक्की गर्ने योजना छ । कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन, रामपुर नगरभित्रका तालपोखरा, सीताकुण्ड, रामघाट, राममन्दिरलगायतका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटन प्रवद्र्धनको विकाससहितका योजना नगरप्रमुख थापाले सार्वजनिक गर्नुभएको छ । डाइलायसिसको सेवा रामपुर अस्पतालमै गर्ने प्रबन्ध मिलाउने प्रतिबद्धतासमेत जनाउनुभयो ।

मजदुर वर्गको उत्थानका लागि मजदुरगृह निर्माण, उनीहरुको बिमा गरिदिने, पाँच वर्षभित्रमा ‘एक घर एक धारा’ पु¥याउने लक्ष्य रहेको छ । समृद्ध र नमूना रामपुर बनाउन अघि बढ्ने सङ्कल्प छ ।

यस्तै नवनिर्वाचित उपप्रमुख बालकुमारी थापाले न्यायमा सबैको समान पहुँच र नगरको सुशासनसहित समुचित विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । लैङ्गिक समानता, महिला तथा घरेलु हिंसा न्यूनीकरण र नगरका विभिन्न समुदायमा रहेका कु–प्रथाको अन्त्य गर्नका लागि सचेतामूलक कार्यक्रम, महिलाको अधिकार सुनिश्चित र न्यायका लागि काम गर्ने योजना ल्याएको बताउनुभयो ।

“सीप र क्षमताका आधारमा रोजगारीको अवसर सिर्जना, गाउँमा रहेका महिलाको आर्थिक उपार्जनका लागि उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम सञ्चालन गरी गाउँका महिलाको आर्थिक उपार्जनका लागि बीउ पूँजी कोषको स्थापना गरी सहयोग गरिनेछ”, उहाँले भन्नुभयो ।

नारी शिक्षा, सचेतना, सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने, सुत्केरीलाई पोषणभत्ता रु पाँच हजार पु¥याउने, बालबालिकाको पोषणसँगै आमा सुरक्षा कार्यक्रममा जोड दिने, महिलालाई आर्थिक क्षेत्रमा बलियो बनाउन सीपमूलक तालिमलगायतका योजना उपप्रमुख थापाले सार्वजनिक गर्नुभयो ।

‘एक वडा एक पुस्तकालय’ कार्यक्रमअन्तर्गत १० वटै वडामा सुविधासम्पन्न पुस्तकालय बनाइने, नगरभित्रको शिक्षण संस्थाको शुल्क समायोजन गर्ने, शिक्षामा एकरुपता ल्याई बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम अनिवार्य गराई मन्टेश्वरी अवधारणाको तालिमप्राप्त शिक्षकको व्यवस्था गर्ने, मेयरसँग शिक्षक कार्यक्रमअन्तर्गत वार्षिकरूपमा नगरपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई भविष्यमा नगरभित्र पाँच वर्ष सेवा दिने गरी एमबिबीएस वा प्राविधिक शिक्षा पढ्न चाहने एक विद्यार्थीलाई २५ प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने, इञ्जीनियरिङ, वन, विज्ञान, व्यवस्थापन विषयमा स्नातक तहसम्म अध्यापन गराउनका निम्ति शिक्षण संस्थालाई बजेट व्यवस्थापन गरी प्रक्रिया अगाडि बढाइने योजना पत्रकारमाझ सार्वजनिक गरिएको छ ।

नगर विशेष सेवाअन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य सामाजिक सुरक्षा भक्ता लिन र घर फर्कन नगर सवारीसाधनमार्फत व्यवस्था गर्ने, नगरभित्र विशेष मोडल हाउजिङ म्याप तयार पारी सोही शैलीका घर बनाउन प्रोत्साहन गर्न नगरवासीलाई विशेष कर छुट र अन्य सुविधा प्रदान गर्ने, नागरिक हेल्पलाइनमार्फत २४सैँ घण्टा नागरिकको पहुँचमा सुविधासम्पन्न एम्बुलेन्स, दमकल र अतिआवश्यक सेवा दिइनेछ ।

फोहरलाई मोहरका रूपमा परिणत गर्न कुहिने फोहर, गौशाला र कृषि फार्मबाट मल सङ्कलन र प्रशोधन गरी जैविक कम्पोष्ट मल उत्पादन गर्ने, निर्माणाधीन बसपार्कको स्तरोन्नति, हरेक वडामा सुविधासम्पन्न भलिबल र ब्याडमिन्टन कोर्ट निर्माण, रामपुरको केन्द्रमा सुविधासम्पन्न घण्टाघरसहितको सहिद स्मृति पार्क, कालीगण्डकी उपत्यकाभित्रका पालिकासँग समन्वय गरी बृहत्तर सहरका रूपमा विकास गर्न प्रदेश र केन्द्रसँग समन्वय र सहकार्य गर्न रामपुर नगरपालिकाले अग्रणी भूमिका निर्वाह गर्नेछ ।रासस

साताकाे चर्चित
सम्बन्धित