लुम्बिनी सरकार आज नीति तथा कार्यक्रम ल्याउँदै
लुम्बिनी सरकार आज नीति तथा कार्यक्रम ल्याउँदै
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ।

प्रदेशको राजधानी दाङको राप्ती उपत्यकास्थित प्रदेश सभा भवनमा शुक्रबार बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

यसअघि बिहीबार दिउँसो १ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवलमा निर्माण भएको लुम्बिनी केबलकारको उद्घाटन गर्न आउने भएपछि सूचना निकालेर प्रदेश सभा बैठक नै स्थगित गरिएको थियो।

आगामी वर्षको बजेट असार १ गते ल्याउने भएपछि प्रदेश सरकारले आज आफ्ना प्राथमिकता समेटेर नीति, कार्यक्रम ल्याउन लागेको हो।

नीति, कार्यक्रम प्रदेशसभामा छलफल गरेर पास गरेपछि नीति, कार्यक्रममा समावेश भएका योजना अनुरूप सरकारले बजेट ल्याउने प्रावधान छ।

प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जनताको दैनिक जीवनलाई सम्बोधन गर्ने गरी नीति, कार्यक्रम ल्याउन लागिएको बताए।

पाण्डेयका अनुसार सरकारले नीति, कार्यक्रममा कृषि तथा रोजगारीलाई प्राथमिकरामा राखेको छ।

पर्यटन, शिक्षा र प्रदेशका गौरवका आयोजनालाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिने भएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारले जनतामा जनजीविकालाई प्रत्यक्ष छुने र उपलब्धी देखिने पुराना कार्यक्रमलाई निरन्तरता दिने बताए।

विगतका नीति कार्यक्रमले र रोजगारीका अवसर सिर्जना गर्न नसकेकोले यसपटक रोजगारी बढाउने खालका योजना समावेश गरिने उनको भनाइ छ।

मुख्यमन्त्री चौधरीले सीप विकास, आत्मनिर्भर जनता, उपयोगमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित