चैतेदसैँका अवसरमा गहवा माईको निशानसहितको डोली यात्रा गर्ने
  चैतेदसैँका अवसरमा गहवा माईको निशानसहितको डोली यात्रा गर्ने
    • Bell Sanchar

    • २६ चैत्र २०८०, सोमबार

वीरगञ्ज।    

वीरगञ्जको प्रख्यात गहवा माई मन्दिरले चैतेदसैँका अवसरमा गहवा माईको निशानसहितको डोली यात्रा गर्ने भएको छ ।

मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालन समितिले पहिलो पटक वैशाख ४ गते चैतेदसैँका अवसरमा माईको निशानसहितको डोली यात्रा गर्ने तयारी गरेको हो ।

समितिका अध्यक्ष नरेन्द्र शाहले पहिलो पटक गहवा माईको निशानसहितको डोली यात्रा गर्न लागेको जानकारी दिनुभयो । “गहवामाई मन्दिर वीरगञ्ज क्षेत्रको मात्रै आस्थाको धरोहर नभइ समग्र मधेस प्रदेशसँगै छिमेकीमुलुक भारतको विहार राज्यका दशनार्थीको आस्थाको केन्द्रबिन्दु रहँदै आएको छ”, उहाँले भन्नुभयो, “यो मन्दिरमा भाकल तथा पूजापाठ गरेमा सिद्धि प्राप्त हुने जनविश्वास छ । जसका कारण दैनिक दुई हजारभन्दा धेरै दशनार्थी आउने गर्छन् ।”

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको शुभसाइत वैशाख ४ गते दिनको २ बजे र डोली यात्राको साइत सोही दिनको ४ बजे रहेको बताउनुभयो ।

डोली यात्रा गहवा माई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगञ्जको रोड नम्बर २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवा माई मन्दिर प्राङ्गणमा हुनेछ । मन्दिरका मूल पुरोहित उपाध्यायले मन्दिरको स्थापना मिति यकीन नभए पनि सयौँ वर्ष पुरानो र ऐतिहासिक मन्दिर भएको बताउनुभयो ।

आकर्षक शैलीमा मार्बल प्रयोग गरी निर्माण गरिएको मन्दिर दुई तलाको छ । मन्दिरको गर्भगृहमा ऐतिहासिक गहवा माईको मूर्ति र सातवटा देवीको पिण्ड राखिएको छ । मन्दिरको माथिल्लो तलामा चाँदीमा कुँदेर नागको सात वटा देविको पिण्ड राखिएको छ ।

वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको वैभवकारुपमा गहवामाई मन्दिर रहेको बताउनुभयो । “महानगरले गहवा माईको सात दिदीबहिनीको मन्दिरको प्रचारप्रसार गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।

समितिका सचिव कन्हैयालाल केशरीले डोली यात्रामा करिब पाँच हजारभन्दा धेरै भक्तजनको उपस्थिति हुने दाबी गर्नुभयो । “गहवा माईको नगर परिक्रममा गराएमा नगरवासीको सुखशान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “दसैँको नवरात्रि र चैते दसैँमा यो मन्दिरमा विशेष मेला लाग्ने गर्छ ।”

समितिका अनुसार डोली यात्रामा करिब रु आठ लाख खर्च लाग्नेछ । सो खर्च भक्तजनको स्वतःस्फूर्त दान रकमबाटै चल्नेछ । यो मन्दिरमा विशेष गरी शनिबार र मङ्गलबार श्रद्धालुभक्तजन दर्शनका लागि आउने गर्छन् ।

मन्दिरमा साधारण पूजा गर्न शुल्क लाग्दैन । तर मन्दिरको गर्भगृहमा गएर विशेष पूजा गर्न रु दुई सय ५५ को टिकट लिनुपर्छ । यो मन्दिरमा सरकारी निकायले फूलपातीमा बढाइँ गर्ने परम्परा छ । यो मन्दिर वीरगञ्जको घण्टाघरचोकबाट दुई मिनेटको दूरीमा पर्छ ।

साताकाे चर्चित
सम्बन्धित