महाकुम्भ मेलामा भक्तजनको उत्साह, प्रयागराजमा करोडौँको सहभागिता
महाकुम्भ मेलामा भक्तजनको उत्साह, प्रयागराजमा करोडौँको सहभागिता
    • बेल संचार

    • ३० माघ २०८१, बुधबार

प्रयागराज ।

 यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ। टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको उल्लास झल्किन्छ।

एक सय ४४ वर्षपछि आयोजना भएको महाकुम्भ मेलामा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्तजन नदी किनारमा बनाइएका स्नानस्थलमा भगवान्को नाम जप्दै डुबुल्की मारिरहेका छन्। धार्मिक मान्यता अनुसार प्रयागराजमा गङ्गा, यमुनासँगै अदृश्य सरस्वती नदीको सङ्गम हुने विश्वास गरिन्छ, जसले यस स्थानलाई विशेष बनाएको छ।गत महिनादेखि जारी महाकुम्भ मेलामा आउने भक्तजनको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ।

महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवका अनुसार दैनिक एक करोडदेखि तीन करोडसम्म श्रद्धालु मेलामा सहभागिता जनाइरहेका छन्। “भक्तजनको गणनाका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधि प्रयोग गरी क्यामेरा जडान गरिएको छ। एक दिनमा सबैभन्दा धेरै तीन करोडभन्दा बढी भक्तजन महाकुम्भ मेलामा आएका छन्,” उनले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछि भक्तजनको आगमन उल्लेखनीय रूपमा बढेको छ। पछिल्लो पाँच दिनमा अत्यधिक भिडभाड भएको यादवले बताए। हालसम्म ४५ करोडभन्दा बढी भक्तजन महाकुम्भमा भेला भइसकेका छन् भने मेलाको समापनसम्म ५५ करोड पुग्ने अनुमान गरिएको छ। नेपाललगायत विभिन्न देशबाट पनि ठूलो संख्यामा श्रद्धालु यहाँ आइपुगेका छन्।महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवर्द्धन गर्न सक्ने यादव बताउँछन्। “यहाँ आएका भक्तजन अयोध्या र वाराणसीका प्रसिद्ध धार्मिकस्थलहरूमा गइरहेका छन्।

त्यस्तै, नेपालका पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनी भ्रमण गराउने योजना निर्माण गर्न सकिन्छ,” उनले सुझाव दिए।विश्वभरबाट आउने भक्तजनको सङ्ख्या अनपेक्षित रूपमा बढे पनि महाकुम्भ मेलाको व्यवस्थापन चुस्त राखिएको छ। नदी किनारमा सुरक्षित स्नानस्थल निर्माण गरिएको छ। सञ्चारमाध्यमका लागि आवासीय सुविधासहित ‘पडकास्टिङ’ क्षेत्रको व्यवस्था गरिएको छ। भक्तजनलाई अस्थायी बसोबास उपलब्ध गराइएको छ। मेलाको व्यवस्थापनका लागि हालसम्म भारत सरकारले ७५ अर्ब भारतीय रुपैयाँ खर्च गरिसकेको छ।

महाकुम्भ मेलाको परम्परा झन्डै ८५० वर्ष पुरानो मानिन्छ। यसको सुरुआत आदिशङ्कराचार्यले गरेका थिए। समुद्र मन्थनका क्रममा अमृतकलश प्राप्त भएपछि देवता र राक्षसबीच तानातान भएको धार्मिक कथन पाइन्छ। भगवान् विष्णुले मोहिनी रूप धारण गरी अमृत सुरक्षित गरेपछि जयन्त नामक देवपुत्रले अमृतकलश कौवाको रूपमा बचाएर चार ठाउँमा खसालेको विश्वास गरिन्छ— प्रयागराज, उज्जैन, हरिद्वार, र नासिक। यही धार्मिक मान्यताका आधारमा यी चार स्थानमा महाकुम्भ मेला लाग्ने गर्दछ।

यसरी, महाकुम्भ मेला न केवल हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण छ, बरु धार्मिक पर्यटन प्रवर्द्धनका लागि समेत उपयुक्त अवसर बनेको छ।

साताकाे चर्चित
सम्बन्धित