बागलुङमा ऐतिहासिक हनुमान नाच : नौ वर्षपछि उल्लासमय प्रस्तुति
बागलुङमा ऐतिहासिक हनुमान नाच : नौ वर्षपछि उल्लासमय प्रस्तुति
    • बेल संचार

    • ५ फाल्गुन २०८१, सोमबार

बागलुङ ।

गत शनिबार साँझदेखि सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बनायो। दर्शकहरू अबेर रातिसम्म ठेलमठेल भएर नाचको आनन्द लिए। कलाकारहरूले लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा प्रस्तुत गरेका नृत्यले सबैलाई मन्त्रमुग्ध बनायो। नाच अवलोकन गर्न गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकसहित विभिन्न विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए।

नौ वर्षपछि पुनः सुरु भएको हनुमान नाच भदौ ११ गते बागलुङ नगरपालिका–३ नारायणचोकबाट प्रारम्भ भएको थियो। त्यसपछि मङ्सिर १५ मा लोकतान्त्रिकचोक र शनिबार वडा नं ३ किनाराटोलमा नाच निकालिएको हनुमान संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए। आगामी फागुन १० गते राधाकृष्णटोलमा नाच प्रदर्शन गर्ने तयारी भइरहेको छ।

हनुमान नाचको सुरुवात नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन र पूजापाठपछि भएको हो। परम्पराअनुसार, भीमसेन मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने चलन रहिआएको छ। नारायणचोकमा मुख्य पूजाआजासहित सुरु भएको नाच बजारका विभिन्न टोलहरूमा नचाइन्छ। माग भए जिल्लाबाहिर पनि यो नाच प्रदर्शन गरिन्छ।

संस्कृतिकर्मी प्रेम छोटाका अनुसार, हनुमान नाच भक्तपुरबाट सुरु भएको भए पनि बागलुङ, बेनीलगायत सीमित स्थानहरूमा मात्र जीवित रहेको छ। परम्पराअनुसार तीन, पाँच, सात, वा नौ वर्ष पार गरेर नाच प्रस्तुत गरिन्छ। हनुमानको आराधनाले शक्ति प्राप्त हुने र सुख-समृद्धि बढ्ने विश्वास गरिन्छ। रामायणका वीर हनुमानको पराक्रम, भक्तिभाव, र अनुशासनलाई नृत्यको माध्यमबाट प्रस्तुत गर्ने परम्परा रहेको छ।

नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरूप धारण गरी विभिन्न दस तालमा प्रस्तुति दिन्छन्। यो परम्परा करिब पाँच सय वर्षअघि भक्तपुरबाट सुरु भएको हो। पछि, बागलुङमा बसाइँ सरेका नेवार समुदायले यसलाई यहाँ ल्याएका थिए। बागलुङमा नेवार समुदायको इतिहास झन्डै ३५० वर्ष पुरानो छ।

संस्कृतिकर्मी छोटाका अनुसार, भक्तपुरका राजा भुपतिन्द्र मल्लले मल्लकालमा हनुमान नाच सुरु गरेका थिए। परम्पराअनुसार, हनुमान नाच मङ्गलबार, बिहीबार, र शनिबार मात्र नचाइन्छ। पछिल्लो समय, नेवार समुदायबाहेक अन्य जातीय समूहका कलाकारहरू पनि नाचमा सहभागी हुन थालेका छन्।

हनुमान नाच सञ्चालन गर्न ठूलो आर्थिक लगानी आवश्यक पर्ने भएकाले लामो समय कुर्नुपर्ने बाध्यता रहेको हनुमान संरक्षण परिषद्ले जनाएको छ। यस नाचमा एकै पटक सयौँ व्यवस्थापक, पुजारी, कलाकार, वाद्यवादकहरू खटिनुपर्छ। पोसाक, वाद्ययन्त्र, पूजाका सामग्रीहरू व्यवस्थापन गर्न ठूलो खर्च लाग्ने भएकाले नाच निरन्तर आयोजना गर्न कठिन हुने मूलकजी ईश्वरप्रसाद मलेपतिले बताए।

यसअघि, काठमाडौं, भक्तपुर, पोखरा, र भैरहवाजस्ता शहरहरूमा समेत यो नाच प्रदर्शन गरिएको थियो। चैतको अन्तिम मङ्गलबार नाच समापन गर्ने योजना रहेको भए पनि वैशाख-जेठसम्म नाच लम्बिने सम्भावना छ।

भक्तपुरमा हराउँदै गएको यो नृत्य परम्परा बागलुङमा भने जीवित छ। पछिल्ला वर्षहरूमा युवा पुस्ता हनुमान नाचप्रति आकर्षित हुन थालेका छन्। परिषद्ले समय-समयमा नृत्य तथा वाद्यवादन सिकाउने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष झन्डै ५० जना किशोर र युवा नृत्य तथा वाद्यवादनको प्रशिक्षण लिएर कलाकारका रूपमा सहभागी भएका छन्।

विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो। यो नृत्य परम्परा बागलुङको सांस्कृतिक धरोहर मात्र नभई ऐतिहासिक सम्पदा पनि हो।

साताकाे चर्चित
सम्बन्धित