महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमाको तयारी अंतिम चरणमा
महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमाको तयारी अंतिम चरणमा
    • बेल संचार

    • ११ फाल्गुन २०८१, आईतवार

महोत्तरी,

मधेसको प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई प्रमुख महापर्वको तयारीमा जुटेको छ। महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाको उत्साहले यस क्षेत्रलाई भक्तिमय बनाएको छ।

फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व यस वर्ष बुधबार (फागुन २२ गते) मनाइँदै छ। महाशिवरात्रिलाई विशेष पर्वका रूपमा मनाउन महोत्तरीका शिवालयहरूमा तयारी तीव्र पारिएको छ।

सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर, बर्दिवास–५ को टुटेश्वरनाथ, भङ्गाहा–५ को सिद्धनाथ, सोनमा–७ मगरथानास्थित मङ्गलनाथ, सम्सी गाउँपालिकास्थित धष्नेश्वरनाथ, बर्दिबास–१४ को कामेश्वरनाथ तथा बर्दिबास–३ को इन्द्रेश्वरनाथ महादेव मन्दिर लगायतका शिवालयमा सरसफाइ, रंगरोगन, मेला व्यवस्थापन र भक्तजनको सहजताका लागि आवश्यक तयारी पूरा गरिँदै छ।

बर्दिबास–५ टुटेश्वरनाथ मन्दिर मेला व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष काहारमान स्याङ्वाका अनुसार महाशिवरात्रि पर्वमा ठूलो संख्यामा भक्तजन आउने भएकाले व्यवस्थापन समितिले तयारीलाई प्राथमिकता दिएको छ।

महाशिवरात्रि मेलासँगै मन्दिर परिसरहरूमा विशेष किनमेलको चहलपहल सुरु भइसकेको छ। भक्तजनहरूका लागि भाकलको भाण्टाभार, बेलपत्र, फूलपाती, धूपदीप लगायतका सामग्रीहरू बिक्रीका लागि राखिएको छ। भङ्गाहा–४ रामनगरका बहुरा महतोका अनुसार यसपालि महाशिवरात्रिमा १० हजार भाण्टाका भार बेच्ने योजना बनाइएको छ।

महाशिवरात्रि पर्व सम्पन्न भएलगत्तै फागुन औँसी (शुक्रबार) देखि १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु हुँदैछ। एक सय ३३ किलोमिटर लामो यस धार्मिक यात्रा महोत्तरी, धनुषा तथा भारतको मधुवनी जिल्लासम्म विस्तार हुनेछ। परिक्रमा अवधिभर १५ स्थानमा रात्रिबासको व्यवस्था गरिएको छ।

परिक्रमा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जलेश्वर नगरप्रमुख सुरेश साह सोनारले बताए। पाँचौँ दिनको रात्रिविश्रामका लागि महोत्तरी क्षेत्रका स्थानीय निकायले विशेष व्यवस्था मिलाइरहेको उनले जानकारी दिए।

महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमा केवल धार्मिक पर्व मात्र नभई मिथिलाको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छ। महाशिवरात्रिमा शिवालयहरूमा पूजाआराधना गरी भक्तजनहरू व्रत बस्ने, बेलपत्र चढाउने र शिवभक्तिमा लीन हुने परम्परा छ।

यसैगरी, माध्यमिकी परिक्रमा भगवान शिव र माता पार्वतीको कथासँग सम्बन्धित धार्मिक अनुष्ठान हो, जसमा हजारौं तीर्थयात्री सहभागी हुन्छन्। भारत र नेपालका श्रद्धालुहरूको सहभागिताले यस परिक्रमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको रूपमा पनि महत्त्वपूर्ण बन्दै गएको छ।

साताकाे चर्चित
सम्बन्धित