काठमाडौं ।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले युक्रेनमा जारी द्वन्द्व रोक्न र शान्ति स्थापनाका लागि बेलायत र फ्रान्सले कीभसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बीबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री स्टार्मरले युक्रेनलाई थप सहयोगका उपायहरूबारे अमेरिकासँग पनि छलफल गरिने जानकारी दिए।
आइतबार लन्डनमा आयोजित युरोपेली र क्यानडाली नेताहरूबीचको शिखर सम्मेलनमा युक्रेनलाई थप सहयोग गर्ने विषयमा विस्तृत छलफल हुने बताइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको तिक्तापूर्ण छलफलपछि सम्झौता बिना नै जेलेन्स्की बेलायत फर्किएका थिए।
शनिबार डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री स्टार्मरसँग भेटवार्ता गरेका जेलेन्स्कीले आइतबार बेलायती राजा चार्ल्स तृतीयसँग भेट्ने कार्यक्रम रहेको छ।
बैठकमा युक्रेनलाई आवश्यक सैन्य सहायता, दुर्लभ खनिज सम्झौता र द्वन्द्व समाधानका उपायहरूबारे छलफल हुने बताइएको छ।