अमेरिकाले भारत, चीन लगायतका देशमाथि उच्च भन्सार शुल्क लगाउने
अमेरिकाले भारत, चीन लगायतका देशमाथि उच्च भन्सार शुल्क लगाउने
    • बेल संचार

    • २१ फाल्गुन २०८१, बुधबार

वासिङ्टन डीसी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्ने क्रममा भारत, चीन, दक्षिण कोरिया लगायत धेरै देशहरूलाई अमेरिकी वस्तु आयातमा उच्च शुल्क लगाउने देशहरूको सूचीमा राखेका छन्। उनले अप्रिल २ देखि पारस्परिक कर लागू हुने घोषणा गरेका छन्। ट्रम्पका अनुसार जुन देशले अमेरिकी वस्तुहरूमा जति कर लगाउँछ, त्यसै अनुरूप सो देशमाथि पनि कर लगाइनेछ।

ट्रम्पले अन्य देशहरूले दशकौँदेखि अमेरिकाविरुद्ध भन्सारको प्रयोग गर्दै आएको आरोप लगाए। उनले भने, “औसतमा ईयू, चीन, ब्राजिल, भारत लगायतका अनगिन्ती देशहरूले हामीसँग अत्यधिक शुल्क असुलिरहेका छन्, जसको तुलनामा हामीले निकै कम शुल्क लगाउँदै आएका छौँ। यो प्रणाली अमेरिकाका लागि निष्पक्ष थिएन।”

उनले उदाहरण दिँदै भने, “भारतले १०० प्रतिशत अटो ट्यारिफ लगाउँछ, चीनले दोब्बर ट्यारिफ लिन्छ, दक्षिण कोरियाले चौब्बर ट्यारिफ लिन्छ। यस्तो असमान व्यवहार अब सह्य हुँदैन।”

राष्ट्रपति ट्रम्पले भन्सार शुल्कले ठूलो राजस्व उत्पन्न गर्ने र रोजगारी सिर्जना गर्ने दाबी गरे। उनले भने, “धेरै दशकदेखि अमेरिकालाई लगभग सबै देशहरूले लुटिरहेका छन्। अब हामी यसलाई रोक्नेछौँ। भन्सार शुल्कबाट ठूलो राजस्व उठ्नेछ, जसले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउनेछ।”

उनले अप्रिल २ देखि अमेरिका आउने विदेशी कृषि उत्पादनहरूमा नयाँ शुल्क लगाइने बताए। साथै, विदेशी आल्मुनियम, तामा, काठ र स्टीलमा २५ प्रतिशत भन्सार लगाइने घोषणा गरे। “यो नीति अमेरिकी जागिर मात्र होइन, हाम्रो देशको आत्मा जोगाउने अभियान पनि हो,” ट्रम्पले थपे।

नयाँ व्यापार नीतिले अमेरिकी किसानहरूलाई पनि फाइदा पुग्ने उनको दाबी छ। ट्रम्प प्रशासनले अवलम्बन गर्ने नयाँ नीति अमेरिकालाई फेरि धनी र महान् बनाउने अभियानको एक हिस्सा भएको उनले बताए।

 

साताकाे चर्चित
सम्बन्धित