चाङलुङ गुफा : छथरको उदाउँदो पर्यटकीय गन्तव्य
चाङलुङ गुफा : छथरको उदाउँदो पर्यटकीय गन्तव्य
    • बेल संचार

    • २३ फाल्गुन २०८१, शुक्रबार

तेह्रथुम ।

 धनकुटाको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। स्थानीय सरोकारवालाको पहलमा पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा जोड दिइएपछि यो गुफा पर्यटकको नजरमा पर्न थालेको हो।

प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्व
करीब ३८ रोपनी क्षेत्रफलमा फैलिएको चाङलुङ गुफा १५० मिटर लामो छ। गुफाभित्र ‘टर्चलाइट’ को सहायतामा अँध्यारो यात्रा गर्दा रोमाञ्चक र साहसिक अनुभूति हुन्छ। गुफा वरपरका साना गुफा, ढुङ्गाका थाक, चट्टान, पहरा र जैविक विविधताले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ।

चाङलुङ गुफा धार्मिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ। किंवदन्तीअनुसार गुफामा चाङलुङ देवी र मच्छिन्द्र देवी को वासस्थान रहेको विश्वास गरिन्छ। गुफा क्षेत्रमा विशेष पूजाआजा हुने गरेको स्थानीय रमेश खड्काले बताए।

पर्यटन विकासका संरचना निर्माण
चाङलुङ गुफाको पर्यटन विकासका लागि तीन तहका सरकारको करिब रु तीन करोड लगानी भइसकेको छ। स्वागतद्वार, सिँढी मार्ग, रेलिङ, लभपार्क, हावाघर (रिफ्रेसमेन्ट घर) जस्ता संरचना निर्माण गरिएका छन्। केही संरचना निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष महेन्द्र मादेनले बताए।

पहुंच र सम्भावना
चाङलुङ गुफा कोशी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारबाट शुक्रबारे हुँदै मार्सेसम्म १२ किलोमिटर पक्की सडक र तीन किलोमिटर कच्ची सडक पार गरेर पुग्न सकिन्छ।

छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूका अनुसार चाङलुङ गुफालाई भविष्यमा पूर्वी नेपालको अब्बल पर्यटकीय गन्तव्य को रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र पर्यटन पूर्वाधारले चाङलुङ गुफालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित