दमस्कस ।
सिरियाली राजधानी दमास्कसमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र अपदस्थ बसर अल-असदका समर्थकहरूबीच भीषण लडाइँ भएको समाचार प्राप्त भएको छ। देशको उत्तरपश्चिमी तटीय क्षेत्रमा रहेको रुसी नियन्त्रित एयरबेस नजिकैको लताकिया प्रान्तमा भएको यस झडपमा दर्जनौं व्यक्तिको मृत्यु भएको बताइएको छ। डिसेम्बरमा बसर अल-असदको पतनपछि सिरियाको इस्लामवादी सरकारसँग सम्बद्ध सेनासँगको यो सबैभन्दा हिंसात्मक झडप हो।
विभिन्न स्रोतहरूले मृतकहरूको संख्याबारे फरक-फरक अनुमान प्रस्तुत गरेका छन्। स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको भए पनि, बीबीसीले बिहीबार राति सिरियास्थित स्टेप समाचार एजेन्सीलाई उद्धृत गर्दै सरकार समर्थक सेनाको आक्रमणमा लगभग ७० पूर्व सरकारी लडाकुहरू मारिएको र २५ भन्दा बढीलाई जाब्लेह र वरपरका क्षेत्रहरूमा पक्राउ गरिएको जनाएको छ। त्यस्तै, एएफपी समाचार एजेन्सीले एक युद्ध पर्यवेक्षकलाई उद्धृत गर्दै १६ सरकारी सुरक्षाकर्मी, २८ असद समर्थक लडाकु र चार नागरिकसहित जम्मा ४८ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
सिरियाली रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल हसन अब्दुल घानीले राज्य सञ्चार माध्यममार्फत लताकियामा लडिरहेका असद समर्थकहरूलाई चेतावनी दिएका छन्। उनले भनेका छन्, “सरकारको स्थायित्व र राष्ट्रिय सुरक्षाका लागि कुनै पनि किसिमको अवरोध स्वीकार्य हुनेछैन।” यस घटनाले सिरियामा जारी अस्थिरता र राजनीतिक विभाजनलाई अझ गहिरो बनाएको छ।