लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन, त्रिपिटक पाठ समारोह सम्पन्न
लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन, त्रिपिटक पाठ समारोह सम्पन्न
    • बेल संचार

    • २५ फाल्गुन २०८१, आईतवार

लुम्बिनी

 विश्व शान्तिको कामनासहित बुद्ध जन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ। चौथो त्रिपिटक पाठ समारोहको समापनपछि शनिबार साँझ लुम्बिनी स्क्वायरमा दीप प्रज्ज्वलन गरिएको हो।

धम्मकाय फाउन्डेसनको आयोजनामा भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक-उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुको सहभागितामा दीप प्रज्ज्वलन गरिएको थियो। नेपाल झण्डाको केन्द्रमा धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्ज्वलनको शुभारम्भ अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले गरेका थिए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध जन्मस्थलमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु महत्त्वपूर्ण रहेको बताए। उनले बुद्धका उपदेशलाई यस्ता आध्यात्मिक कार्यक्रमबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए।

थाई धम्मकायका सल्लाहकार डा. अदिसकले दीपको उज्यालोले आन्तरिक र बाह्य ज्ञानको प्रतिविम्बन गर्ने उल्लेख गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका सल्लाहकार रोशनी गिरी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्य, अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविरलगायतले पनि दीप प्रज्ज्वलनको महत्त्वबारे धारणा राखे।

बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित चारदिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह सम्पन्न भएको छ। अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार त्रिपिटक पाठ समारोहको समापन गर्दै बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गरे। उनले बुद्ध शिक्षालाई आत्मसात् गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएको उल्लेख गरे। अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले त्रिपिटक पाठबाट सकारात्मक ऊर्जा प्रवाह भएको बताए।

त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्ध शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए।

गौतम बुद्धले ४५ वर्षसम्म प्रदान गरेको ज्ञान तथा धर्मदेशनालाई त्रिपिटकमा सङ्ग्रहित गरिएको छ। समारोहमा भिक्षु-भिक्षुणी, लामा, आनी, उपासक-उपासिकासहित चार सयभन्दा बढीको सहभागिता रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित