काठमाडौँ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भावना, र हर्ष उल्लासको सन्देश बोकेको फागु पूर्णिमा पर्व आज हिमाली तथा पहाडी जिल्लामा धूमधामका साथ मनाइँदैछ। विभिन्न रङ र लोला खेल्दै परम्परागत रूपमा मनाइने यो पर्व दैत्यराज हीरण्यकश्यपका पुत्र भक्त प्रह्लादको जीवनरक्षासँग सम्बन्धित धार्मिक कथासँग जोडिएको छ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरलाई आज विधिपूर्वक ढाली टुँडिखेलमा लगी जलाइने परम्परा छ। यस अवसरमा मानिसहरू वसन्तपुरमा भेला भई वातावरणलाई रङ्गीचङ्गी बनाउँदै हर्षोल्लासपूर्वक पर्व मनाउँछन्। चीरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वासका साथ लुछाचुँडी गरिन्छ भने चीरको खरानीको टीका लगाउनाले अनिष्ट टर्ने जनविश्वास रहेको छ।
आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालबाट अनवरत रूपमा ल्याइने दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ धारामा चुठाउने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार, त्रेता युगमा हीरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्न आगोले नछुने वरदान प्राप्त बहिनी होलिकालाई प्रयोग गरे पनि होलिका स्वयं भष्म भएकी थिइन्। भक्त प्रह्लाद भने बच्न सफल भएपछि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्यस्वरूप होली मनाउने परम्परा चलेको विश्वास गरिन्छ।
त्यसैगरी, द्वापर युगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले भगवान श्रीकृष्णलाई विष दलिएको स्तन चुसाउन खोज्दा असफल भई मारिएपछि व्रजवासीले उनलाई जलाई फागु महोत्सव मनाउने परम्परा बसेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
होली पर्वका स्वास्थ्य सम्बन्धी फाइदाहरू पनि छन्। राम्रो किसिमले तयार पारिएका रङ र अबिरले छालाका रोग निवारण गर्न सहयोग पुर्याउने विश्वास छ। साथै, शीतकालमा उत्पन्न कफ हटाउन तथा चीरको धुवाँबाट विभिन्न रोगका कीटाणु नष्ट गर्न यो पर्वको विशेष आयुर्वेदिक महत्त्व पनि रहेको छ।
फागु पूर्णिमाका अवसरमा परम्परादेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। हिमाली तथा पहाडी जिल्लामा आज मनाइने यो पर्व तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट धूमधामका साथ मनाइने चलन छ।