म्याग्दी ।
म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायले आजदेखि आफ्नो परम्परागत पर्व तोरन ल्ह (फागु पूर्णिमा) मनाउन सुरु गरेका छन्। नेपालभर करिब ११ हजारको सङ्ख्यामा रहेका थकाली समुदायले हरेक वर्ष फागु पूर्णिमाको अवसरमा यो पर्व धूमधामका साथ मनाउने गर्छन्।
थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनका अनुसार फागु पूर्णिमाको अघिल्लो दिनदेखि सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाइने चलन रहेको छ। “तीन दिन बिहानै उठेर शुद्ध भई पितृहरूको सम्झना गर्दै पूजाआजा गरिन्छ र फूलप्रसाद चढाइन्छ,” उनले भने, “आफन्तलाई बोलाएर विशेष परिकार खान खुवाउने तथा आर्चरी (तारो हान्ने खेल) खेल्ने परम्परा रहेको छ।”
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाक्लो उपस्थिति रहेको छ भने म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायतका क्षेत्रमा पनि थकालीहरूको बसोबास छ। तोरन ल्ह पर्व मनाउनका लागि घरबाहिर तथा विदेशमा रहेका थकाली समुदायका सदस्यहरू आफ्नो जन्मथलो फर्किएका छन्।
यस अवसरमा थकाली समुदायका पुरुषहरू परम्परागत तारो हान्ने खेल खेल्दै रमाइलो गर्छन् भने महिलाहरू मौलिक भेषभूषामा सजिएर नाचगान, गोटा खेल्ने तथा आपसी शुभकामना साटासाट गर्ने गर्छन्। पर्वको उल्लास बढाउन घरहरू सफा र आकर्षक रूपमा सजाउने चलन पनि रहेको छ।
थकाली समुदायको सांस्कृतिक पहिचानको रूपमा रहेको तोरन ल्ह पर्वले उनीहरूको सामाजिक एकता मजबुत बनाउने विश्वास गरिएको छ।