फागुपूर्णिमामा भीमसेन मन्दिरमा भक्तजनको घुइँचो
फागुपूर्णिमामा भीमसेन मन्दिरमा भक्तजनको घुइँचो
    • बेल संचार

    • २९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं।

फागुपूर्णिमाको अवसरमा याँछेंस्थित भीमसेन मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। भीमसेन देवताको विधिपूर्वक पूजा तथा दर्शन गर्दा आम्दानीका नयाँ स्रोत खुल्ने र व्यापार व्यवसाय फस्टाउने धार्मिक मान्यता रहेका कारण भक्तजन झिसमिसेदेखि नै मन्दिर पुग्न थालेका हुन्।

आजको दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घसंस्था तथा पसल सञ्चालन गर्नेहरू बलिसहितको पूजा गर्न मन्दिरमा पुग्ने गर्छन्। साथै, विभिन्न टोलहरूबाट धिमेबाजा, बाँसुरी लगायतका परम्परागत बाजागाजासहितका टोली मन्दिरतर्फ प्रस्थान गरेका छन्।

देवताको पूजाअर्चनापछि समयबजी खाएर फागु पर्व मनाउने प्रचलन रहेको छ। स्थानीय महिलाहरू हाकुपटासी (परम्परागत कालो पहिरन) मा सजिएर रङ खेल्दै टोलटोलमा पुग्ने परम्परा अद्यावधि कायम छ।

आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको प्रतीकात्मक पुरुष जननेन्द्रियलाई नगर परिक्रमा गराई ब्रह्मायणी मन्दिरस्थित खोलामा पखालेर पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व समापन हुने परम्परा रहेको छ।

यो प्रतीकात्मक काठको लिङ्ग बोक्ने व्यक्ति पुत्रहीन भएमा कालान्तरमा पुत्रप्राप्ति हुने जनविश्वास रहेको छ।

फागु पर्वको उल्लासमय माहोलसँगै काठमाडौं उपत्यकाका विभिन्न भागमा परम्परागत संस्कृति झल्कने कार्यक्रमहरू भव्य रूपमा आयोजना भइरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित