राजधानीमा अनुशासित रूपमा फागु पूर्णिमा मनाइयो
राजधानीमा अनुशासित रूपमा फागु पूर्णिमा मनाइयो
    • बेल संचार

    • २९ फाल्गुन २०८१, बिहीबार

काठमाडौँ ।

 राजधानी काठमाडौंमा आज बिहानैदेखि आपसमा रङ खेली फागु पूर्णिमा (होली) पर्व उल्लासपूर्ण रूपमा मनाइएको छ। विगतमा जस्तो जबरजस्ती अरूलाई रङ दल्ने वा पानी खन्याउने दृश्य भने अहिले कमै देखिएको छ।

केही वर्षअघिसम्म होलीका दिन घरबाहिर निस्कने जो कोहीमाथि बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो भने जबरजस्ती अबिर तथा रासायनिक रङ दलेर मानिसलाई चिन्नै नसकिने बनाइन्थ्यो। सार्वजनिक स्थलमा हिँड्ने बटुवाहरूलाई लोला हानेर दु:ख दिने प्रवृत्ति व्यापक थियो। तर, पछिल्ला केही वर्षयता राजधानीमा होली पर्व बढी अनुशासित रूपमा मनाउन थालिएको देखिएको छ।

यस वर्ष फागु पर्व नमनाउने मानिसहरू पनि निर्धक्क भएर सडकमा हिँड्न सके। कसैले पनि अरूको इच्छा विपरीत रङ वा पानी हाल्ने गरेको देखिएन। अधिकांश मानिसहरूले घरपरिवार, छरछिमेक तथा साथीभाइसँग मात्र होली खेलेर उल्लास साटासाट गरेका छन्।

केही वर्षअघिसम्म फागु पूर्णिमाको एक साताअघि नै विशेषगरी महिलाहरूलाई पानीका लोला हानेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन गाह्रो बनाउने गरिन्थ्यो। तर, यस वर्ष होलीकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकिएको अनुभव धेरैले सुनाएका छन्।

सडकमा बालबालिकाहरू रमाइरहेका भए पनि अघिपछि जस्तो जबर्जस्ती रङ दल्ने वा पानी हान्ने दृश्य न्यून देखिएको छ। जोरपाटी चोकमा होली मनाइरहेका युवा मङ्गलबहादुर तामाङका अनुसार, “साथीभाइबीच मात्र रमाइलो गर्दैछौं, सवारीसाधन वा पैदल यात्रुहरूलाई केही पनि गरेका छैनौं।”

विगतमा जरुरी कामले बाहिर निस्कने व्यक्तिलाई जबर्जस्ती रङ दलिँदा तनावपूर्ण वातावरण सिर्जना हुने गरेको थियो। तर, यो वर्ष फागु पर्व अपेक्षाकृत शान्त, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाइएको देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित