भक्तपुरमा परम्परागत भिमसेन होली पर्व लोपोन्मुख
भक्तपुरमा परम्परागत भिमसेन होली पर्व लोपोन्मुख
    • बेल संचार

    • २९ फाल्गुन २०८१, बिहीबार

भक्तपुर ।

भक्तपुरको ऐतिहासिक दत्तात्रय मन्दिरअगाडि रहेको भिमसेन मन्दिरमा परम्परागत रूपमा मनाइँदै आएको भिमसेन होली पर्व अहिले लोपोन्मुख बन्दै गएको छ। विशेष रूपमा नेवार समुदायमा मनाइने यस पर्वमा प्रेम, यौन र सांस्कृतिक मान्यता जोडिएको छ।

भिमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले होलीका पारम्परिक गीत गाएर पर्वको आगमन स्वागत गर्ने तथा विदाइ गर्ने परम्परा थियो। तर अहिले धेरै स्थानीयलाई यस्ता भजनबारे जानकारी समेत नरहेको पाइन्छ।

फागुन शुक्ल अष्टमीका दिन तीन हात लामो र ३० इन्च मोटो काठको लिङ्गलाई ब्रम्हायणी खोलामा स्नान गराई भक्तपुरका विभिन्न टोलमा घुमाउने चलन थियो। यसक्रममा स्थानीय बासिन्दाले लिङ्ग स्पर्श गरी ढोग्ने, दान दक्षिणा चढाउने परम्परा थियो। परन्तु, पछिल्ला वर्षहरूमा लिङ्गलाई टोलटोलमा घुमाउने चलन हराउँदै गएको छ।

नेवारी परम्पराअनुसार लिङ्ग झुण्ड्याएपछि होली पर्वको विधिवत् सुरुआत हुने मान्यता छ। यस अवसरमा गाइने भजनहरू प्रेमभाव दर्शाउने खालका छन्, जस्तै – ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ (अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हँसिलो बनाइदिउँ कि)। तर, अहिले भजनमार्फत प्रेम प्रस्ताव राख्ने प्रथा हराउँदै गएको छ।

यौन र सांस्कृतिक प्रतीकका रूपमा भिमसेनको लिङ्ग

भिमसेन गुठीले होली पर्वलाई प्रेम र यौनसँग दाँजेर मनाउँदै आएको छ। फागुन शुक्ल अष्टमीदेखि फागुपूर्णिमासम्म भिमसेनको लिङ्ग र द्रौपदीको योनिको प्रतीक मन्दिरमा झुण्ड्याउने परम्परा रहेको छ। स्थानीय समुदायले यसलाई विकृतिका रूपमा नभई सांस्कृतिक महत्वको रूपमा संरक्षण गर्दै आएका छन्।

यस अवसरमा दर्शनार्थीहरूले भिमसेनको लिङ्ग हल्लाउने गर्छन्। मन्दिरमा झुण्ड्याइएको काठको लिङ्गको टुप्पोमा कपास बाँधेर राख्ने गरिन्छ, जसलाई वीर्यको प्रतीकका रूपमा लिने गरिन्छ। जनविश्वासअनुसार यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु तथा व्यापार वृद्धिमा सहयोग पुग्ने मान्यता छ।

परम्परागत होली समापन विधि

फागुपूर्णिमाका दिन साँझ दत्तात्रय मन्दिरअगाडिबाट भिमसेनको लिङ्ग निकालेर काँधमा बोकेर ब्रम्हायणी खोलामा स्नान गराइ पुनः मन्दिरमा राख्ने परम्परा रहेको छ। यसरी लिङ्ग बोकेर लैजाने व्यक्तिको परिवारमा त्यस वर्ष छोरा जन्मने विश्वास गरिन्छ।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार यो पर्व धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा परापूर्वकालदेखि मनाइँदै आएको छ। “यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ,” उनले भने।

पछिल्लो समय भक्तपुरका नेवार समुदायमा समेत यो परम्परा ओझेलमा पर्दै गएको छ। परम्परागत संस्कृति संरक्षणका लागि स्थानीय तह र समुदायको विशेष पहल आवश्यक रहेको संस्कृतिविद्हरू बताउँछन्।

साताकाे चर्चित
सम्बन्धित