अन्तर्राष्ट्रिय क्षयरोग दिवस २०२५ जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै
अन्तर्राष्ट्रिय क्षयरोग दिवस २०२५ जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै
    • बेल संचार

    • ११ चैत्र २०८१, सोमबार

काठमाडौं ।

 हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ। यस दिवसको उद्देश्य क्षयरोगविरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने तथा सेवा प्रवाहलाई सुनिश्चित गर्नु हो।

यस वर्षको दिवसको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ। दिवसले क्षयरोग महामारी अन्त्यका लागि गरिएका प्रयास तथा उपलब्धिहरूलाई सम्झनुका साथै आगामी रणनीतिहरू निर्धारण गर्ने अवसर प्रदान गर्छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारी का अनुसार क्षयरोग (टीबी) विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग हो, जुन नेपालमा समेत प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहँदै आएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२३ मा नेपालमा अनुमानित ६८,००० नयाँ क्षयरोग प्रभावित व्यक्ति थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ थियो। त्यस्तै, १६,००० जनाको मृत्यु भएको अनुमान गरिएको छ, जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ रहेको छ।

राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत सोही अवधिमा ४०,७७६ क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता भएका थिए, जसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए। पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए।

नेपालमा ६,२४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा निःशुल्क उपलब्ध छ भने ८०० स्वास्थ्य संस्थामा क्षयरोग निदान सेवा प्रदान गरिँदै आएको छ।

नेपालमा क्षयरोग अन्त्य गर्न विभिन्न प्रयासहरू भइरहे पनि केही चुनौतीहरू यथावत छन्।अनुमानित क्षयरोग प्रभावितमध्ये ४० प्रतिशत अझै उपचारको दायरामा आउन सकेका छैनन्। राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय रणनीतिक योजना (२०२१/२२ – २०२५/२६) अनुसार १९२ मिलियन अमेरिकी डलर आवश्यक भए पनि हालसम्म ११० मिलियन मात्र उपलब्ध छ, जसले ४३ प्रतिशत बजेट अभाव देखाउँछ।
५१ प्रतिशत क्षयरोग प्रभावित परिवार आर्थिक व्ययभारको चपेटामा परेका छन्।
 रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, चुरोट, रक्सी वा लागुऔषध सेवन गर्ने, तथा औषधि अपूर्ण रूपमा सेवन गर्नेहरूमा पुनः संक्रमण देखिन सक्छ।

 नेपालभर २९ वटा उपचार केन्द्र र ९८ वटा उपचार उपकेन्द्रमार्फत औषधि प्रतिरोधी क्षयरोग उपचार सेवा उपलब्ध छ। ६ महिने ‘रेजिमेन’ इन्जेक्सनरहित छोटो अवधिको उपचार उपलब्ध गराइएको छ।
१४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सञ्चालन गरिएको छ।
 एआई प्रविधि जडित डिजिटल एक्स-रे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामी पहिचानको खोजपड्ताल सुरु गरिएको छ।

क्षयरोग अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक छ।

स्वास्थ्य क्षेत्रसँगै शिक्षा, श्रम, सामाजिक सुरक्षण र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ।स्थानीय तहको नेतृत्व र उत्तरदायित्व विकास गर्दै क्षयरोग अन्त्यको प्रयासलाई दिगो बनाइनु आवश्यक छ।निजी क्षेत्र र समुदायको संलग्नता बढाउनु पर्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।

 ३ हप्ता वा सोभन्दा बढी खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा, तौल अचानक घटेमा वा धेरै पसिना आएमा क्षयरोग परीक्षण गराउनुपर्छ।
यस रोगसँग डराउनु पर्दैन, निःशुल्क उपचारको व्यवस्था गरिएको छ।
औषधि नियमित सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुन सक्छ।

नेपालले सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ। यसलाई हासिल गर्न प्रत्येक नागरिक सचेत रहनु आवश्यक छ।

साताकाे चर्चित
सम्बन्धित