रुकुम पश्चिम
रुकुम पश्चिम जिल्लाका २१ हजार ८५५ घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण लाइन जडान भइसकेको छ। जिल्ला विद्युत् वितरण केन्द्रका प्रमुख वीरमान रासकोटीका अनुसार जिल्लाका छ वटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय लाइन विस्तार गर्न बाँकी छ।
नेपाल विद्युत् प्राधिकरणले केही समयअघि जिल्लाभरका ७३ वडाको तथ्यांक सङ्कलन गरेको थियो। चालू आर्थिक वर्षको अन्त्यसम्म थप दुई हजार पाँच सय घरमा लाइन पुर्याउने लक्ष्य रहेको प्राधिकरणको अनुमान छ।
हाल सानीभेरी गाउँपालिका–५ र ७ तथा आठबीसकोट नगरपालिका–३ मा मात्रै केन्द्रीय लाइन पुगेको छैन। ती क्षेत्रका घरधुरीहरू स्थानीय स्तरमा निर्माण गरिएको साना जलविद्युत् आयोजनाको भरमा रहेका छन्।
दुई वर्षभित्र जिल्लाका सबै बासिन्दालाई केन्द्रीय विद्युत् प्रणालीमा ल्याउने उद्देश्य राखिएको रासकोटीले बताए। यसका लागि अहिले पुनः विद्युतीकरण परियोजना र भम्पू चौर सवस्टेशन निर्माणको काम अगाडि बढाइएको छ।
केन्द्रीय प्रसारण लाइनको पूर्ण विस्तारका लागि करिब १६ करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।