सिँजामा नेपाल मजदुर किसान पार्टीको जनसभा सम्पन्न
सिँजामा नेपाल मजदुर किसान पार्टीको जनसभा सम्पन्न
    • उमेश बुढा

    • ३ बैशाख २०८२, बुधबार

जुम्ला ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) द्वारा आयोजित जनसभा कार्यक्रम बुधबार सिँजामा सम्पन्न भएको छ।

जुम्ला क्षेत्र नम्बर (ख) अन्तर्गत पर्ने नराकोटमा आयोजित उक्त औपचारिक कार्यक्रममा तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाबाट पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश इन्चार्ज सुरोजराज गोसाईँले वर्तमान सरकारको तानाशाही प्रवृत्तिका कारण राजावादी धारणा पुनः सक्रिय भएको बताए। उनले स्पष्ट शब्दमा भने, “गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। नेपालमा अब गणतन्त्र नै स्थायी व्यवस्था हो।”

गोसाईँले हाल देशमा विदेशी शक्तिको प्रभाव र पुँजीवादी सोचको वर्चस्वका कारण राजावादी शक्तिहरूले फेरि टाउको उचाल्न थालेको टिप्पणी गरे। “विदेशी दलालहरूको इसारामा देश चलाउने प्रवृत्तिले नेपालमा हिंसात्मक राजनीतिक गतिविधि बढेको छ,” उनले आरोप लगाए।

उनले थपे, “जुनसुकै दल वा व्यक्ति सत्तामा रहे पनि यदि उनीहरूको सोच पुँजीवादी छ भने, त्यो सरकारले देशको समृद्धि सुनिश्चित गर्न सक्दैन। त्यसैले अब नेपाली जनताले नेपाल मजदुर किसान पार्टीलाई रोज्नुपर्ने आवश्यकता देखिएको छ।”

जनसभामा विभिन्न वक्ताहरूले सुशासन, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा पार्टीको भूमिका उल्लेख गर्दै मजदुर किसान पार्टी नै देशको भविष्य निर्माण गर्ने वैकल्पिक शक्तिको रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

“विदेशी दलालको भरपर्दा मुलुक आत्मनिर्भर बन्न सक्दैन। अब नेपाली जनताले विवेक प्रयोग गरी श्रमिक, किसानको आवाज बोकेको पार्टी रोज्न जरुरी छ,” वक्ताहरूको भनाइ थियो।

उक्त जनसभाको सभाध्यक्षता सिँजा गाउँपालिका पार्टी कमिटीका अध्यक्ष लालबहादुर सार्कीले गर्नुभएको थियो।

साताकाे चर्चित
सम्बन्धित