देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
माघ ३ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्ध पब्लिकले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो ।
प्रतियोगितामा बुद्ध पब्लिकले १० स्वर्ण, १३ रजत र ४ काश्य हात पारेको छ । त्यस्तै सगरमाथा आवासीय माविले ८ स्वर्ण, ७ रजत र ८ कास्य जित्दै द्वितीय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ९ कास्य जित्दै केरवानी माविले तेस्रो स्थान हासिल गर्यो भने ४ स्वर्ण, १ रजत र ३ काश्यसहित भविष्य निर्माण माविले चौथो भएको छ ।
रनिङ शिल्ड उचालेको देवदह बुद्ध पब्लिकले १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथाले १० हजार रुपैयाँ र तृतीय स्थान हासिल गरेको केरवानी माविले ५ हजार नगद प्राप्त गरेको छ ।
दोस्रो देवदह राष्ट्रपति रनिङ्ग शिल्डको संयोजन देवदह-५ स्थित केरवानी माविले गरेको थियो ।
गत वर्ष माघ १२ देखि १४ गतेसम्म देवदह माविको संयोजनमा संचालित पहिलो देवदह राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण पदक जित्दै देवदह माध्यमिक विद्यालयले शिल्ड उचालेको थियो । जसमा गत वर्षपनि सगरमाथा आवासीय माविले दोस्रो र केरवानी तेस्रो भएका थिए । सगरमाथाले ३ स्वर्ण, ६ रजत र २ कास्य जितेको थियो भने केरवानी माविले ३ स्वर्ण ५ रजत र ६ कास्य हात पारेको थियो ।