काठमाडौं ।
इजरायली सेनाले पुनः गाजा क्षेत्रमा आक्रमण गरेको छ। रफाह क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित तीन विद्यालयहरू र एक व्यवसायिक तालिम केन्द्रमा पनि आक्रमण भएको छ।
युद्धविरामको दोस्रो चरणको वार्ताको तयारी भइरहे पनि इजरायलले आक्रमण जारी राखेको छ। इजरायलका विदेशमन्त्री गिदोन सारले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता हुने बताएका छन्।
हमासले बिहीबार चार बन्धकहरूको शव फिर्ता गर्न तथा शनिबार थप छ जना जीवित बन्धकहरूलाई रिहा गर्न सहमति जनाएपछि इजरायल वार्तामा लचक देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४८,२९१ प्यालेस्टिनीको मृत्यु भएको छ भने १,११,७२२ जना घाइते भएका छन्। साथै, भग्नावशेषमा थुप्रै बेपत्ता रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।