पाकिस्तानको मदरसामा बम विस्फोट, पाँचजनाको मृत्यु
पाकिस्तानको मदरसामा बम विस्फोट, पाँचजनाको मृत्यु
    • बेल संचार

    • १६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं ।

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तस्थित एक मदरसामा भएको बम विस्फोटमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

शुक्रबार प्रार्थनाको दिन भएकाले मदरसामा धेरैजना जम्मा भएका बेला खैबर पख्तुनख्वामा रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो। उक्त मदरसा तालिबान समर्थक धार्मिक विद्यालयका रूपमा परिचित छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पठाइएको छ। घाइतेहरूमा केही बालबालिका समेत रहेका छन्।

मदरसामा अध्ययनरत विद्यार्थी र प्रार्थनाका लागि पुगेकाहरूलाई लक्षित गरी विस्फोट गराइएको आशंका गरिएको छ। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

आईसीसी च्याम्पियन्स ट्रफी जारी भइरहेका बेला विस्फोट भएपछि पाकिस्तानमा खेलाडीहरूको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरिएको छ।

एसोसिएटेड प्रेसका अनुसार दारुल उलुम हक्कानिया मदरसा अफगान तालिबानसँगको सम्बन्धका लागि परिचित छ। मदरसामा करिब चार हजार विद्यार्थी अध्ययन गर्छन्, जहाँ विद्यार्थीहरूलाई निःशुल्क खाना, बास र शिक्षा सुविधा प्रदान गरिन्छ।

विस्फोट मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुने केही दिन अगाडि भएको हो। रमजान चन्द्रमा देखिएपछि शनिबार वा आइतबार सुरु हुने अपेक्षा गरिएको छ।

सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित