युक्रेन युद्धविराम गर्न तयार, वार्तामा अमेरिकी मध्यस्थता
युक्रेन युद्धविराम गर्न तयार, वार्तामा अमेरिकी मध्यस्थता
    • बेल संचार

    • २८ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

रुससँग जारी युद्ध अन्त्यका लागि युक्रेन ३० दिनका लागि युद्धविराम गर्न सहमत भएको छ। साउदी अरबको जेद्दामा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेनले यो निर्णय गरेको हो।

ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की जेद्दामा अमेरिकी अधिकारीहरुसँग पहिलोपटक वार्तामा सहभागी भएका थिए। सो वार्तामा अमेरिकाले राखेको ३० दिनको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरेको छ। साथै, अमेरिकाले युक्रेनलाई रोकिएको सहायता पुनः जारी गर्ने र युक्रेनले आफ्ना खनिज खानीसम्म अमेरिकालाई पहुँच दिने सहमति भएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको र अब रुसले निर्णय गर्नुपर्ने बताएका छन्।

रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी रहेको छ। युक्रेनले यसअघि कहिल्यै युद्धविरामका लागि सहमति जनाएको थिएन। युद्धविरामको निर्णय लिनुअघि युक्रेनले रुसको राजधानी मस्कोमा हालसम्मकै ठूलो हमला गरेको थियो। २०० भन्दा बढी ड्रोन आक्रमण हुँदा ९० जति ड्रोन मस्कोमै केन्द्रित भएका थिए।

साताकाे चर्चित
सम्बन्धित