काठमाडौं ।
केही समयदेखि फरार रहेका दुर्गा प्रसाईंले आफूले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट सार्वजनिक गर्दै आफूले आत्मसमर्पण गरेको उल्लेख गरेका छन्। उक्त पोस्टमा लेखिएको छ, “आज दुई घण्टा अघि हाम्रो अभियानका संयोजक दुर्गा प्रसाईंले भारतको आसाम राज्यमा प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ। हामीले हिजोमात्रै सुरक्षा प्रत्याभूति भए २४ घण्टाभित्र हाजिर हुने भनिएको थियो, र आज हामी उपस्थित भयौँ। जय देश, जय राष्ट्रवाद!”
तर, नेपाल प्रहरीले भने यस विषयमा कुनै आधिकारिक पुष्टि गरेको छैन। प्रहरी प्रवक्ता डिआईजी दिनेश कुमार आचार्यले दुर्गा प्रसाईंको गिरफ्तारी वा आत्मसमर्पणसम्बन्धी कुनै जानकारी नभएको बताएका छन्।
त्यसैगरी, भारतीय राज्य आसामको प्रहरी निकायले पनि नेपालका कुनै नागरिकले आत्मसमर्पण गरेको विषयमा जानकारी नरहेको जनाएको छ। आसाम प्रहरीकी प्रवक्ताले नेपाली पक्षबाट उठाइएको विषयबारे कुनै सूचना नरहेको बताइन्।
प्रसाईं गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूद्वारा आयोजना गरिएको प्रदर्शनपछि फरार भएका थिए। उक्त प्रदर्शनमा हिंसात्मक गतिविधि भएको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। प्रहरीको भनाइ अनुसार, उनी सो हिंसात्मक घटनाका मुख्य योजनाकार हुन्, जसले गाडी चलाएर सुरक्षाकर्मीमाथि जान खोजेको आरोप छ।
प्रदर्शनको दिन एक जना पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए भने काठमाडौंका विभिन्न स्थानहरूमा आगजनी, तोडफोडलगायतका घटनाहरू भएका थिए। ती घटनापछि प्रसाईं सार्वजनिक रूपमा भिडियोमार्फत आफ्ना भनाइ राख्दै आइरहेका थिए। एक भिडियोमा उनले कानुनी सुरक्षा सुनिश्चित भए आफैँ समर्पण गर्ने बताएका थिए।
यद्यपि हालसम्म दुर्गा प्रसाईंको ठ्याक्कै अवस्था र स्थान पुष्टि भइसकेको छैन।