वीरगन्जमा कर्फ्यु अवधि थप, रात्रिबजार स्थगित
वीरगन्जमा कर्फ्यु अवधि थप, रात्रिबजार स्थगित
    • बेल संचार

    • ३१ चैत्र २०८१, आईतवार

वीरगन्ज 

पर्सा जिल्लाको वीरगन्जमा उत्पन्न तनावग्रस्त अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले लगाइएको कर्फ्यु आइतबार राति १२ बजेसम्मका लागि लम्ब्याएको छ। शनिबार साँझ हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा उत्पन्न झडपपछि सुरक्षाका दृष्टिले कर्फ्यु जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आइतबार जारी सूचनामा जनाइएअनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु अवधि बढाइएको हो। कर्फ्युको क्षेत्र पूर्वमा बाइपास रोडदेखि पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म विस्तार गरिएको छ।

प्रशासनले कर्फ्यु अवधिभर जनतालाई घर बाहिर ननिस्कन, कुनै प्रकारका सभा, जुलुस वा सार्वजनिक भेला नगर्न आग्रह गरेको छ। सुरक्षालाई ध्यानमा राख्दै शान्ति सुव्यवस्था कायम गर्नका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वदलीय बैठक पनि सम्पन्न भएको थियो।

उक्त बैठकले समुदायबीचको सद्भाव कायम राख्नका लागि कुनै पनि संगठन, संघसंस्थाले बन्द वा प्रदर्शनजस्ता गतिविधि नगर्न अपिल गर्ने निर्णय गरेको छ। साथै, झडपमा घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणको उपचार सरकारले गर्नु पर्ने, र विवाद उत्पन्न गर्ने व्यक्तिहरुलाई कानुनी कारबाहीमा ल्याउनु पर्ने माग पनि गरिएको छ।

यसैबीच, नयाँ वर्ष २०८२ को स्वागतमा वीरगन्ज महानगरपालिकाले आयोजना गरेको ‘रात्रिबजार’ कर्फ्युका कारण शनिबारदेखि स्थगित भएको छ। आदर्शनगरस्थित पुरानो बसपार्कमा सञ्चालन हुने भनिएको यो रात्रिबजारले शहरको आर्थिक गतिशीलता बढाउने आशा गरिएको थियो।

रात्रिबजार आयोजनामा ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइइएफ, साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआर जस्ता संस्थाहरूको सहकार्य रहेको थियो। तथापि, शान्ति सुरक्षाको प्राथमिकतालाई ध्यानमा राख्दै कार्यक्रम रोकिएको जनाइएको छ।

साताकाे चर्चित
सम्बन्धित