झापा
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको शिलान्यास गर्नुभएको छ। चैत ३१ गते नगरपालिकाको वडा नम्बर १ अन्तर्गत चौतु चोकमा आयोजित विशेष कार्यक्रममा उहाँको उपस्थितिमा शिलान्यास सम्पन्न भएको हो।
प्रधानमन्त्री ओलीले उक्त अवसरमा बोल्दै आगामी दिनमा बन्ने अस्पतालले केवल स्थानीय बासिन्दामात्र होइन, भारतसँग सिमाना जोडिएका क्षेत्रका नागरिकहरूलाई समेत स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि सूचना प्रविधिको प्रयोग गर्दै सरकार निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो।
युवाहरूलाई मुलुकमै अवसर खोज्न र रचनात्मक कार्यमा सहभागिता जनाउन आह्वान गर्दै प्रधानमन्त्रीले स्वदेशमा नै व्यवसाय र रोजगारीका सम्भावना बढाउन सरकार कटिबद्ध रहेको धारणा राख्नुभयो।
दुई बिघा क्षेत्रफलमा फैलिने अस्पताल निर्माणका लागि १२ करोड ५९ लाख रुपैयाँभन्दा बढी लागत विनियोजन गरिएको छ। जे एन्ड जे निर्माण सेवाले अस्पताल निर्माणको जिम्मा पाएको छ भने परियोजना सम्पन्न गर्ने लक्ष्य २०८३ साल माघ १४ गतेसम्म राखिएको छ।
यसअघि २०७५ सालमा प्रधानमन्त्री ओलीकै नेतृत्वमा सबै स्थानीय तहमा १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएको थियो। तर, गौरादहमा आवश्यक जग्गा व्यवस्थापनमा ढिलाइका कारण अस्पताल निर्माण प्रक्रिया पछि धकेलिएको थियो।
शिलान्यास समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।