काठमाडौं
आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्को विशेष अधिवेशन बोलाउन सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शाहीले शिक्षा विधेयक पारित नगरेसम्म शिक्षकहरूको आन्दोलन समाधान नहुने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “सडकमा उत्रिएका शिक्षकहरूको माग सम्बोधन शिक्षा विधेयकमार्फत मात्र सम्भव छ। संसद् हाल बन्द छ, त्यसैले सरकारसँग विशेष अधिवेशन बोलाउन अनुरोध गर्दछु।”
शाहीले सरकारप्रति कटाक्ष गर्दै भनेका छन्, “सत्तामा बसेर उखान टुक्कामा रमाउनुको सट्टा शिक्षकहरूको वास्तविक समस्यातर्फ ध्यान दिनुपर्छ। माग पूरा गर्नु सरकारको दायित्व हो।”
चैत २० गतेदेखि देशभरका शिक्षकहरू विभिन्न मागसहित आन्दोलनरत छन्। शिक्षा क्षेत्रमा सुधार र पेशागत अधिकार सुनिश्चितताको माग गर्दै शिक्षकहरूको दबाब दिन संसद् तहसम्म आवाज पुग्न थालेको छ।