काठमाडौं
नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षासम्बन्धी कुनै पनि कार्यमा सहभागी नहुन शिक्षक, प्रधानाध्यापक र विद्यालय कर्मचारीलाई अपिल गरेको छ। वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षा बहिष्कार गर्दै महासंघले यो आग्रह गरेको हो।
एक विज्ञप्ति जारी गर्दै महासंघले केन्द्राध्यक्ष, निरीक्षक, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनारदेखि शैक्षिक भ्रमणसम्मका गतिविधिमा शिक्षकहरू सहभागी नहुन अनुरोध गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा शिक्षकहरूको पूर्ण सहभागिता आवश्यक रहेको भन्दै, निषेधित गतिविधिमा संलग्न नभइ माग पूरा गराउन एकजुट हुन आह्वान गरेका छन्।
उनका अनुसार आन्दोलनको प्रभावकारिता मापन गर्न जिल्लास्तरमा गोप्य अनुगमनसमेत भइरहेको छ। “को शिक्षक आन्दोलनमा सहभागी भयो, को भएन — त्यसको निरन्तर निगरानी गरिएको छ,” सुवेदीले बताए।
शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेको हो भने चैत २५ गतेदेखि आम शैक्षिक हडताल घोषणा गरेको थियो। अध्यक्ष सुवेदीले सरकारले शिक्षकहरूको मागमा सुनुवाइ नगरेसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्।