बिराटनगर
कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते ‘प्रदेश लगानी सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ। यसअघि माघमा हुने भनिएको सम्मेलन विविध कारणले स्थगित गरिएको थियो।
प्रदेश सरकारले पूर्वाधार विकास, कृषिमा आधारित उद्योग, ऊर्जा, पर्यटन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै लगानी आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेको हो।
लगानी सम्मेलनका संयोजक तथा प्रदेश सचिव पवनकुमार तिमिल्सेनाका अनुसार सम्मेलनमा विदेशी लगानीकर्ता, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था, प्रवासी नेपाली व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ।
सम्मेलनले उद्योग, व्यापार र लगानी प्रवर्द्धनसम्बन्धी नीति तथा अवसरहरूबारे जानकारी दिने उद्देश्य राखेको छ। प्रदेश सरकारका अनुसार यो सम्मेलन कोशी प्रदेश सरकारको प्रमुख गौरव आयोजनामध्ये एक हो।
यसअघि योजना गरिएका तीन गौरव आयोजनामध्ये ‘चिया सम्मेलन’ रोकिएको छ भने ‘पर्यटन वर्ष २०८२’ भने केही विवादका बीचमा सञ्चालनमा रहेको छ।