कलेजका अध्यापक नै यौनधन्दामा : खाजाघरमा यौनधन्दा चलाउने गुल्मीका ज्ञवाली पक्राउ, सञ्चालक फरार
कलेजका अध्यापक नै यौनधन्दामा : खाजाघरमा यौनधन्दा चलाउने गुल्मीका ज्ञवाली पक्राउ, सञ्चालक फरार
    • Bell Sanchar

    • २ मंसिर २०७८, बिहीबार

मानव बेचबिखन अभियोगमा पक्राउ परेका गुल्मी सत्यावती गाउँपालिका–४ का ५२ वर्षीय नेत्रलाल ज्ञवालीविरुद्ध अनुसन्धानमा जुटेका प्रहरी त्यतिवेला आश्चर्यमा परे, जब उनी कलेजको अध्यापक भएको तथ्य खुल्यो । अनुुसन्धानका क्रममा प्रहरीले ज्ञवालीले अंग्रेजी विषयमा डबल मास्टर्स (लिटरेचर र लिङ्ग्विस्टिक) मा गरेको फेला पा¥यो । ज्ञवाली कुलेश्वरस्थित जनमैत्री कलेजमा ‘पार्ट टाइम’ पढाउँथे । उनको ‘फुल टाइम’ भने यौनधन्दाका लागि ग्राहक खोज्नुमा बित्थ्यो ।

कोटेश्वरको भाटभटेनी सुपर मार्केटनजिकै नेवारी खाजाघर थियो । खाजाघरमा यौनधन्दा चल्थ्यो । सञ्चालिका थिइन्, भक्तपुरकी माया भनिने उर्मिला श्रेष्ठ । धन्दाका लागि ग्राहक खोज्ने जिम्मा भने ज्ञवालीको थियो ।

गत १७ कात्तिकमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट पक्राउ परेका उनको सम्बन्धमा ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले भनिन्, ‘खाजाघरमा यौनधन्दा सञ्चालन भएको सूचनापछि हामीले अपरेसन चलायौँ । यही क्रममा नेत्रलाल पक्राउ परे । अनुसन्धान गर्दै जाँदा उनी कलेजको लेक्चर रहेको खुल्यो । शैक्षिक योग्यता हेर्दा उनले त अंग्रेजी विषयमा डबल मास्टर्स नै पो गरेका रहेछन् ।’

एसएसपी दुर्गा सिंह, प्रमुख मानव बेचबिखन अनुसन्धान ब्युरो

खाजाघरमा यौनधन्दा सञ्चालन भएको सूचनापछि हामीले अपरेसन चलायौँ । यही क्रममा नेत्रलाल पक्राउ परे । अनुसन्धान गर्दै जाँदा उनी कलेजको लेक्चर रहेको खुल्यो । शैक्षिक योग्यता हेर्दा उनले अंग्रेजी विषयमा डबल मास्टर्स नै पो गरेका रहेछन् ।

खाजाघरमा यौनधन्दा 
यौनधन्दा चलेको सूचनापछि ब्युरो र माइती नेपालको संयुक्त टोलीले २५ भदौमा खाजाघरमा छापा मा¥यो । घरबाट पाँचभन्दा धेरै किशोरी उद्धार गरिए । उनीहरूलाई माइती नेपालको आश्रयमा राखियो । पहिलोपटकको बयानमा किशोरीहरू खाजाघरको सम्बन्धमा खुल्न चाहेनन् । महिना दिनको काउन्सिलिङपछि उद्धार गरिएकामध्येकी १६ वर्षीया विनिता शर्माले (परिवर्तित नाम) खाजाघरमा यौनधन्दा चल्ने गरेको खुलाइन् ।

बयानका क्रममा उनले दैनिक पाँचजनाभन्दा धेरै ग्राहकलाई सेवा दिनुपरेको र ग्राहकबाट प्राप्त रकम खाजाघर सञ्चालिका उर्मिलाले लिने गरेको बताइन् । ग्राहक खोज्ने काम भने नेत्रलाल ज्ञवालीबाट हुने गरेको खुलेपछि प्रहरी खोजीमा जुट्यो । केही दिनको खोजीपछि उनी पक्राउ परे । अनुसन्धानका क्रममा खुल्यो, यौनधन्दामा संलग्न उनी कलेजका लेक्चरसमेत रहेछन् । तर, खाजाघर सञ्चालिका उर्मिलालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘खाजाघर सञ्चालिका र नेत्रलाल लिभिङ टुगेदरमा बस्ने रहेछन् । खाजाघरमा यौनधन्दा चल्ने रहेछ । ग्राहक खोज्ने काम भने नेत्रलालले गर्ने रहेछन् । किशोरीसँगको बयानबाट यही खुलेको छ । खाजाघर सञ्चालिका र धन्दामा संलग्न अर्को एकजना फरार छन् । खोजीकार्य तीव्र पारेका छौँ । केही दिनभित्रै उनीहरू पक्राउ पर्नेछन्,’ ब्युरो प्रमुख एसएसपी सिंहले भनिन् ।

प्रहरीका अनुसार बयान दिने किशोरी काठमाडौंकै स्थानीय हुन् । उनी अहिले यौनरोगबाट ग्रसित छिन् । माइती नेपालको आश्रयमा रहेकी उनले सानैमा आमा गुमाएकी थिइन् । आर्थिक अभावपछि उनको अध्ययन पनि अघि बढ्न सकेन । आफन्तकहाँ बसिरहेकी उनी गत वैशाखबाट उर्मिलाको खाजाघरमा कार्यरत थिइन् । खाजाघरमा उनलाई दिदीको छोराले लगेर राखेका थिए ।

सरकारी अधिकृतबाट रिटायर्डपछि यौनधन्दा सञ्चालन 
नेपाल सरकारको अवकाशप्राप्त अधिकृत हुन्, ठुटे बुढा भनिने दीपबहादुर श्रेष्ठ । स्वास्थ्य विभागअन्तर्गत कार्यरत उनी अवकाश भएलगत्तै होटेल व्यवसायमा लागे । कोटेश्वरमा दिपलक्ष्मी खाजा तथा गेस्टहाउस खोले । गेस्टहाउसमा मदिरासँगै यौनधन्दा पनि चलाउन थाले । धन्दाका लागि किशोरी खोज्ने जिम्मा प्रिया भनिने विमला विकले लिएकी थिइन् । यौनधन्दा चलाउने गरेको सूचनापछि प्रहरीले गेस्टहाउसमा छापा मार्‍यो । नभन्दै एक किशोरी बन्धक बनाइएको अवस्थामा भेटिइन् । उनैको बयानका आधारमा प्रहरीले दीप र विमलालाई पक्राउ गर्‍यो । पक्राउ परेका दुवै अहिले पुर्पक्षका लागि जेलमा छन् ।

उपत्यकाका खाजाघर प्रहरीको निगरानीमा 
उपत्यकाभित्रका खाजा तथा गेस्टहाउसमा यौनधन्दा सञ्चालन हुने गरेको भेटिएपछि प्रहरीले निगरानी बढाएको छ । सूचना संकलनका लागि प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ । यसक्रममा धन्दामा संलग्न पाँचजना पक्राउ परेका छन् । उद्धार गरिएका युवतीलाई भने माइती नेपालको आश्रयमा राखिएका छन् । अन्तरिक तवरले हुने मानव बेचबिखनजस्ता अपराध रोक्न प्रहरीले यस्तो अपरेसन चलाउनुपरेको ब्युरो प्रमुख एसएसपी सिंहले बताइन् ।

‘मानव बेचबिखनजस्ता जघन्य अपराध अन्तरदेशीय मात्रै हुने होइन, देशभित्र पनि हुने गरेका छन् । यसप्रति प्रहरी सचेत छ । उपत्यकाभित्रका खाजाघरमा यस्ता धन्दा हुने गरेको सूचना हामीले पाएका छौँ । त्यसो हुँदा त्यस्ता घर हाम्रो निगरानीमा छन् । केहीमा छापा मारेका छौँ,’ उनले भनिन् ।

साताकाे चर्चित
सम्बन्धित