स्थानीय तह निर्वाचनमा भएका ३ सय घटनाको छानबिन गर्दै प्रहरी
स्थानीय तह निर्वाचनमा भएका ३ सय घटनाको छानबिन गर्दै प्रहरी
    • Bell Sanchar

    • १० जेष्ठ २०७९, मंगलवार

वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदान स्थलका मतदान केन्द्रमा भएका कानून विपरितका गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको  छ  ।प्रहरीले स्थानीय  निर्वाचनको अवधिमा  भएको तीन सय घटनाको छानबिन गरिरहेको  बताएको छ ।

प्रहरीका अनुसार, ताला बन्दी, म्यादी घाइते, पक्राउ, झडप, उच्छृङ्खखल गतिविधि, तोडफोड, वादविवाद, उम्मेदवार घाइते, निर्वाचनमा विरोधी गतिविधि, कार्यकर्ता घाइते, गुण्डागर्दी पक्राउ, आगजनीका घटना भएका छन् ।  बस दुर्घटना, जुलुस ¥याली, शंकास्पद वस्तु फेला, तोडफोड, सवारी आगजनी, विस्फोटक वस्तु फेला, उम्मेदवार मृत्यु, सार्वसाधारण घाइते, घाइते, जिप दुर्घटना, आचारसंहिता उल्लङ्घन, कार्यकर्ता मृत्यु, विस्फोट, बुथ क्याप्चर, मतदान अधिकृत घाइते, प्रहरी घाइते, आमसभा, जबरजस्ती करणीलगायतका तीन सयवटा घटनाहरु छानबिनको प्रक्रियामा छन् ।

नेपाल प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी विष्णुकुमार के.सी. का  अनुसार   गृह मन्त्रालयमार्फत् सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । स्थानीय निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदान स्थलका मतदान केन्द्रमा विभिन्न राजनीतिक दल, दलका प्रतिनिधि, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि एवम् मतदान स्थलमा प्रवेश गरेका विभिन्न व्यक्तिले अनावश्यक वादविवाद गरी मतदानमा अवरोध सिर्जना गर्ने काम हुने गरेको छ ।

मतपेटिका खोस्ने, मतपेटिका कथा मतपत्र नष्ट गर्ने, मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने, हूलदङ्गा सिर्जना गर्ने, ढुङ्गामुढा गरी असामान्य स्थिति सिर्जना गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने कार्य भएका छन् । यसैगरी, मतदान केन्द्रको अनाधिकृत कब्जा गरी एक पक्षीय रुपमा मतदान गर्ने आदिजस्ता निर्वाचनसम्बन्धी कसूरजन्य कार्यहरु गरी मतदान कार्य स्थगित रहेको अवस्थामा त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही गरिरहेको प्रवक्ता के.सी.को भनाइ छ ।

निर्वाचनलाई प्रभाव पार्ने गरी प्रदेश १ मा ५६ वटा, मधेश प्रदेशमा ४०, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा २८, कर्णाली प्रदेशमा ३६ र सुदूरपश्चिम प्रदेशमा ३६ वटा गरी जम्मा तीन सय वटा उच्छृङ्खल गतिविधि स्थानीय निर्वाचको अवधिमा भएको प्रहरीको तथ्याङ्क छ ।

कतिपय स्थानमा पुनः मतदानको कार्य भएकाले मतगणना अझै जारी छ । ती गतिविधि हुन नदिन र स्थानीय तह निर्वाचन, २०७९ को सन्दर्भमा उल्लिखित घटनामा संलग्न भएका र हुने व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुने गरी काम गर्ने कर्मचारीको आयोगले विवरणसमेत माग गरेको छ । मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्ध कट्टीसहित मतपत्र दिने, अर्ध कट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने, मतपत्रमा मत संकेत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलको स्वस्तिक छाप दिनेजस्ता त्रुटि भएको देखिएको आयोगले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित