पानी परीक्षण प्रयोगशाला स्थापना   
पानी परीक्षण प्रयोगशाला स्थापना   
    • Bell Sanchar

    • २५ पुष २०८०, बुधबार

पाल्पा

स्थानीयलाई घर–घरमा शुद्ध पानी पुयाउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको छ ।

यहाँका विभिन्न मूल, मुहानमा रहेका पानीलाई खानयोग्य छ कि छैन प्रयोगशालामा परीक्षण गर्ने र उपचार विधि गर्नुपर्ने पानीलाई उपचार गरी सबैलाई शुद्ध पानी उपभोग गराउने गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक र आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको पालिकाले जनाएको छ ।

प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता थियो । अब भने पालिकाभित्र नै प्रयोगशाला स्थापना भएपछि पानीको शुद्धताका लागि सहज हुने भएको छ । पालिकाको यो पहिलो पानी परीक्षण प्रयोगशाला हो । पानीका मुहान र मूल प्रशस्त रहे पनि सबै खानका लागि योग्य नहुने हुँदा परीक्षण गर्ने विधि भएपछि पानी शुद्ध छ या छैन सबै जानकारी लिन सजिलो हुने स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी बताउनुहुन्छ । यहाँ रहेका मूल, मुहानका पानी नियमित रुपमा परीक्षण गरेर उपभोग गरिने उहाँले बताउनुभयो ।

पानी परीक्षण नियमित नहुँदा सफा, शुद्ध, स्वच्छ छ या छैनभन्दा पनि दैनिक आवश्यकता परिपूर्तिका लागि पानी उपभोग गर्न स्थानीय बाध्य थिए । पानीका कारण विभिन्न रोग लाग्ने हुँदा सबैभन्दा पहिला खानेपानी उपभोगमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

साताकाे चर्चित
सम्बन्धित