पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा   
पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा   
    • Bell Sanchar

    • २६ चैत्र २०८०, सोमबार

पर्वत, 

वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो ।

आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ । पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पु¥याइएको छ ।

स्थानीय दुई सय परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्याङ्कीमा सङ्कलन गरी एक घर एक धारामार्फत वितरण गरिने भएको छ । रु चार करोडको लागतमा यो योजना सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर प्रेमबहादुर थापाले बताउनुभयो । केही महिनामै सबै घरमा धारा बनाएर पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पिठ्यूँमा गाग्री बोकेर गुजारा चलाउँदै आएकी स्थानीय बबिता दर्जीले गाउँमा धारामा पानी आउन थालेपछि सुखको सास फेरेको बताउनुभयो । अब पानीको जोहो गर्नकै लागि रातैमा उठेर कुवा र इनारमा धाउनुपर्ने समस्या अन्त्य भएको उहाँको भनाइ छ । डाडाँमा बस्ती बसेको वषौँ वर्षपछि खानेपानी उपलब्ध भएको दर्जीले बताउनुभयो ।

बोरिङमार्फत तानिएको पानी ट्याङ्कीमा सङ्कलन गरेर हरेक घरमा वितरण गरिने फलेवास नगरपालिका–३ शङ्करपोखरीका वडाअध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो । नजिकमा खोला वा मूल नहुँदा यो गाउँमा अहिलेसम्म खानेपानी योजना सञ्चालनसमेत हुन सकेको थिएन ।

त्यसैगरी, लामो समयदेखि काकाकुलको नियति भोगिरहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पनि पहिलोपटक पाइपमार्फत खानेपानी पु¥याइएको छ । सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो । जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताउनुभयो । लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो । पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । रु एक करोडभन्दा बढीको लगानीमा उक्त योजना सम्पन्न हुन लागेको हो ।

“यहाँका बासिन्दा कुवाको भर पर्दै आएका थिए । गाउँको सबैभन्दा ठूलो समस्या नै पानी थियो,” वडाध्यक्ष जिसीले भन्नुभयो । केही वर्षअघिसम्म लुप्राङमा करिब एक सय ३० घर भए पनि तीमध्येका करिब ४० परिवार पानीकै अभावका कारण बसाइँ सरेका छन् । स्थानीय हरिनारायण रेग्मीले वर्षौंदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङवासीको मागको सुनुवाइ भएको बताउनुभयो । अब एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ । लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास गरिए पनि एउटा वडामा रहेको स्रोत अर्को वडामा लगेर प्रयोग गर्नेमा राजनीतिक दलका प्रतिनिधिबीच सहमति नहुँदा गाउँमा पानी पु¥याउन ढिलाइ भएको थियो । अहिले सो विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएपछि योजनाले पूर्णता पाएको हो ।

साताकाे चर्चित
सम्बन्धित